मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठ काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्। उनी जनप्रतिनिधिका रूपमा निर्वाचित भई सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधित्व गर्दै मजदुर र भुईँ मान्छेको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
नेकपा (एमाले) का दीर्घकालीन स्वयंसेवी कार्यकर्ता रहेका श्रेष्ठले करिब चार दशकदेखि विभिन्न भूमिकामा मजदुर र श्रमिकका हकहितका लागि योगदान गर्दै आएको पार्टीले जनाएको छ। पार्टीका अनुसार उनको निरन्तर समर्पण, त्याग र संगठनप्रतिको निष्ठाको कदर गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा मनोनयनका लागि सिफारिस तथा निर्णय गरिएको हो।
पार्टी नेतृत्वले विनोद श्रेष्ठ आफ्नो जन्मभूमि तथा पसिनाले सिञ्चित निर्वाचन क्षेत्रका मतदाता र जनताको अत्यधिक माया, विश्वास र समर्थन प्राप्त गर्दै विजयी हुने विश्वास व्यक्त गरेको छ। एमालेका अनुसार श्रेष्ठको उम्मेदवारीले श्रमिक वर्ग, श्रमजीवी जनता र उपेक्षित समुदायका मुद्दा संसद्मा प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।
मजदुर पृष्ठभूमिबाट आएका नेता श्रेष्ठको उम्मेदवारीलाई काठमाडौं–१० मा श्रमिक, निम्न आय वर्ग र आम नागरिकका सरोकारलाई राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुर्याउने अवसरका रूपमा समेत हेरिएको छ।
प्रकाशित: ६ माघ २०८२ १०:०७ मंगलबार





