राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सम्भावित सहकार्यबाट कुलमान बाहिरिनुमा उनको शैली र इमानदारिता मुख्य कारण रहेको बताएका छन्।
रवि, बालेन र कुलमानको सहकार्य भत्किएकोबारे सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘कुलमानजी लक्षप्रति इमानदार हुनुभएन, उहाँको शैली नै अर्कै देखियो।’
नेता ढकालले पार्टीमा नयाँ आउने साथीहरूलाई पदाधिकारी पद दिन तयार हुँदाहुँदै पनि कुलमानको शैली र मागहरू फरक देखिएको बताए।
‘हामी निर्वाचित सांसदहरू छौं, जो भर्खरै केन्द्रीय सचिवालयमा छौं। तर नयाँ आएका साथीहरूलाई पदाधिकारी बनाउन हामी तयार थियौं। यति हुँदाहुँदै पनि उहाँको शैली अर्कै देखियो,’ उनले भने।
नेता ढकालले राजनीतिमा संख्याभन्दा पनि लक्ष्य र उद्देश्य ठूलो हुने बताए। ‘हामी लक्ष्यप्रति इमानदार हुने हो, संख्याप्रति होइन। जनता र आम नागरिकको भावनालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘कुलमानजीले त्यसो गर्न सक्नुभएन। उहाँको ध्यान संख्या र पदमै केन्द्रित देखियो।’
कुलमानले आफूलाई बन्धक बनाइएको र निकालिएको भन्ने अभिव्यक्ति दिएको बारे सोधिएको प्रश्नमा ढकालले त्यसलाई अस्वीकार गरे। ‘त्यस्तो केही होइन। उहाँको अन्तरआत्मालाई नै सोध्नुस् न,’ उनले भने।
सहकार्य टुट्नुको कारण खुलाउँदै ढकालले सुरुदेखि नै संख्या र पद बाँडफाँडमै तिक्तता देखिएको बताए। ‘आउँदा-आउँदै संख्याकै विषयमा कुरा भयो। बिहान एकथोक, बेलुका अर्कोथोक कुरा गर्ने शैली देखियो,’ उनले भने, ‘यो शंका मात्र होइन, उहाँको शैली नै त्यस्तै रह्यो।’
प्रकाशित: २८ पुस २०८२ १६:५१ सोमबार





