नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्।
७० औँ वर्षमा प्रवेश गरेको अवसर पारेर बिहीबार एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण पार्टीको जिम्मेवारीबाट अलग भई साधारण सदस्य मात्र रहने जानकारी दिएका हुन्।
विगत ४८ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महरा केही वर्षदेखि ‘एट्रोफी’ सम्बन्धी नसा र मांसपेशीको गम्भीर समस्याबाट पीडित छन्।
नियमित उपचार, औषधि सेवन र थेरापी गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पार्टीका नियमित गतिविधिमा सक्रिय हुन कठिन भएको उनले वक्तव्यमा उल्लेख गरेका छन्।
‘स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएको छ,’ महराले विज्ञप्तिमा भनेका छन्, ‘यसै यथार्थलाई आत्मसात् गर्दै निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।’
महराले आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्यजन्य बाध्यात्मक परिस्थिति मात्र भएको बताए।
उनले पार्टी जीवनको अन्तरसंघर्ष र मुलुकको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहने समेत उल्लेख गरेका छन्।
आफ्नो ४८ वर्षे राजनीतिक यात्राका क्रममा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी र नेकपा माओवादी केन्द्र हुँदै हालको नेकपा सम्म आइपुग्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका महराले यो अवधिमा प्राप्त जनता र परिवारको सहयोगप्रति कृतज्ञता प्रकट गरे।
उनले आफ्नो शरीर कमजोर भए पनि समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने बताएका छन्।
बिहीबार जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिनेहरूलाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘उमेरको ७० औँ वर्षमा प्रवेश गर्दै गर्दा, लामो समयदेखि स्वास्थ्यमा देखिएको अस्वस्थताका कारण सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेको छु राजनीतिक यात्रामा साथ र सहयोग दिने सबैप्रति सदैव ऋणी रहनेछु।’
पार्टीका उच्च तहका जिम्मेवारीहरू सम्हाल्दै सभामुख र पटक–पटक मन्त्री समेत भइसकेका महराले नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई समृद्ध र आत्मनिर्भर बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्।
‘नयाँ पुस्ताको सफलतामा नै हाम्रो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहनेछ,’ उनले भनेका छन्।
प्रकाशित: ४ असार २०८३ १७:२८ बिहीबार





