१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
विचार

हाम्रा शिक्षकलाई पढाउने गुरु कस्ता छन्?

नेपालको वर्तमान शिक्षा प्रणालीमाथि मेटा–आलोचना गर्ने शिक्षाविद्हरूको कमी छैन। पाठ्यक्रम, पाठ्यपुस्तक, एसइई, परीक्षा प्रणाली, ग्रेडिङ, अंग्रेजी माध्यम, मातृभाषा, निजी र सामुदायिक विद्यालयबिचको अन्तर, शिक्षामा सरकारी लगानी, विश्वविद्यालयको गुणस्तर, प्रविधिको प्रयोग, कृत्रिम बुद्धिमत्ता, शिक्षक दरबन्दी र शैक्षिक प्रशासन - शिक्षाका लगभग सबै पक्ष हाम्रो बहसको दायरामा छन्।

हामी पाठ्यक्रमलाई दोष दिन्छौं, परीक्षा प्रणालीलाई दोष दिन्छौं, सरकारको बजेटलाई दोष दिन्छौं, विद्यालय व्यवस्थापनलाई दोष दिन्छौं। विश्वविद्यालयको राजनीतिकरण, शैक्षिक गुणस्तर र अनुसन्धान संस्कृतिमाथि पनि निरन्तर प्रश्न उठाउँछौं। कमजोरीहरूको सूची लामो छ। यी प्रश्न आवश्यक छन् तर एउटा अत्यन्त आधारभूत प्रश्न भने अझै अपेक्षित गम्भीरताका साथ उठाइएको छैन। हाम्रा शिक्षकलाई कसले सिकाउँछ वा पढाउँछ त अब ? अझ स्पष्ट शब्दमा भन्दा – शिक्षकलाई शिक्षक बनाउने शिक्षक कस्ता छन् ?

नेपालको विद्यालय शिक्षा क्षेत्र सुधार योजनाले शिक्षक–शिक्षा, तालिम र व्यावसायिक विकासको गुणस्तर सुधार्ने, शिक्षकमा विषयगत ज्ञान, पेडागोजिकल सिप र आधुनिक सूचना–प्रविधिसम्बन्धी क्षमता विकास गर्ने तथा शिक्षक तयारी कार्यक्रमको पुनरवलोकन गर्ने लक्ष्य राखेको छ। यसले शिक्षकको निरन्तर व्यावसायिक सहयोगका लागि विषयगत शिक्षक सञ्जाल, अनुभवी शिक्षकमार्फत मार्गदर्शन र स्थानीय शिक्षक सहयोग प्रणालीको आवश्यकता पनि औंल्याएको छ। यसको अर्थ स्पष्ट छ– समस्या केवल शिक्षकको संख्या होइन, शिक्षकको गुणस्तर, शिक्षक तयारी र शिक्षकलाई तयार गर्ने संस्थाको गुणस्तर पनि हो। त्यसैले मूल प्रश्न पेडागोजी अर्थात् शिक्षाशास्त्रको हो।

पेडागोजीको प्रश्न

शिक्षण केवल विषयवस्तु हस्तान्तरण गर्ने कार्य होइन। शिक्षकले पाठ्यपुस्तक खोलेर त्यहाँ लेखिएको कुरा विद्यार्थीलाई सुनायो भने त्यसलाई पूर्ण अर्थमा शिक्षण भन्न सकिँदैन। यहीं पेडागोजी प्रवेश गर्छ। पेडागोजी भनेको केवल ‘कसरी पढाउने?’ भन्ने प्राविधिक प्रश्न मात्र होइन। यसले के पढाउने, किन पढाउने, कसलाई पढाउने, कुन सन्दर्भमा पढाउने, विद्यार्थीले कसरी सिक्छन्, कस्तो अन्तरक्रिया आवश्यक हुन्छ, कसरी प्रश्न निर्माण गर्ने, कसरी प्रतिक्रिया दिने र कसरी मूल्यांकन गर्ने भन्ने समग्र प्रक्रियालाई समेट्छ। त्यसैले कुनै विषयमा स्नातकोत्तर गरेको व्यक्ति त्यो विषयको ज्ञाता हुन सक्छ तर त्यसैले मात्र ऊ राम्रो शिक्षक बन्छ भन्ने छैन। विषयगत ज्ञान र पेडागोजिकल ज्ञान अलग भए पनि परस्पर सम्बन्धित क्षमता हुन्।

अंग्रेजी शिक्षकले अंग्रेजी जान्नुपर्छ तर उसलाई भाषा कसरी सिकिन्छ र सिकाइन्छ भन्ने पनि थाहा हुनुपर्छ। गणित शिक्षकलाई गणित जान्नुपर्छ तर विद्यार्थी किन कुनै अवधारणामा अड्किन्छ भन्ने बुझ्न पनि सक्नुपर्छ। यही अन्तरले ‘विषय जान्ने व्यक्ति’ र ‘विषय सिकाउन जान्ने शिक्षक’ छुट्याउँछ।

शिक्षकवादको समस्या

हामीले शिक्षकवादमाथि पनि प्रश्न गर्नुपर्छ। शिक्षकवाद भन्नाले शिक्षक नै ज्ञानको अन्तिम स्रोत हो, शिक्षकले बोलेको कुरा विद्यार्थीले ग्रहण गर्नुपर्छ, शिक्षकको उत्तर नै सही उत्तर हो र विद्यार्थीको भूमिका सुन्ने, टिप्ने, सम्झिने र परीक्षामा पुनःउत्पादन गर्ने हो भन्ने संस्कारलाई जनाउन सकिन्छ। नेपालका धेरै कक्षाकोठामा अझै पनि शिक्षणको संरचना एकतर्फी छ। शिक्षक बोल्छ, विद्यार्थी सुन्छ। शिक्षक प्रश्न सोध्छ, विद्यार्थीले शिक्षकले अपेक्षा गरेको उत्तर दिन्छ अनि परीक्षा आउँदा विद्यार्थीले त्यही उत्तर पुनः लेख्छ। यस्तो एकात्मक शिक्षणबाट आलोचनात्मक सोच, सिर्जनशीलता, खोजमूलक सिकाइ र स्वतन्त्र सिकाइको अपेक्षा गर्नु आफैंमा विरोधाभास हो।

हामी विद्यार्थीलाई आलोचनात्मक सोच सिकाउन चाहन्छौं तर शिक्षकको भनाइमा प्रश्न गर्न असहज मान्छौं। हामी सिर्जनशीलताको कुरा गर्छौं तर उत्तरपुस्तिकामा निर्धारित उत्तरभन्दा फरक अभिव्यक्ति आयो भने शंकाको दृष्टिले हेर्छौं। हामी विद्यार्थीकेन्द्रित पेडागोजी पढाउँछौं तर शिक्षक कक्षामा घण्टौंसम्म एकतर्फी व्याख्यान गर्छ। यही ठाउँमा शिक्षक शिक्षाको सबैभन्दा ठुलो विडम्बना देखिन्छ।

शिक्षकका शिक्षकलाई कसले तयार गर्छ?

नेपालमा शिक्षक उत्पादन गर्ने प्रमुख संस्थाहरू विश्वविद्यालयका शिक्षा संकाय, शिक्षक प्रशिक्षण निकाय र विभिन्न व्यावसायिक विकास कार्यक्रम हुन्। त्यसैले विद्यालय शिक्षक कमजोर छ भने विद्यालय शिक्षकलाई मात्र दोष दिएर पुग्दैन, उसलाई तयार गर्ने प्रणालीतिर पनि फर्किनुपर्छ। के शिक्षक शिक्षाका प्राध्यापकहरूले आफूले पढाउने सिद्धान्त कक्षामा प्रयोग गर्छन्? के विद्यार्थीकेन्द्रित पेडागोजी पढाउने व्यक्ति स्वयं विद्यार्थीकेन्द्रित छ? के आलोचनात्मक सोच पढाउने कक्षामा विद्यार्थीलाई असहमति व्यक्त गर्ने स्वतन्त्रता छ? निरन्तर मूल्यांकन पढाउने शिक्षक स्वयं एउटा अन्तिम लिखित परीक्षामा निर्भर छ कि? के प्रविधि–एकीकृत पेडागोजी पढाइने कक्षामा प्रविधि वास्तवमै सिकाइका लागि प्रयोग भइरहेको छ? प्रतिबिम्बात्मक अभ्यास पढाउने शिक्षकले आफ्नै शिक्षणबारे प्रतिबिम्बन गर्छ?

यी प्रश्न असहज हुन सक्छन् तर शिक्षक शिक्षाको गुणस्तर सुधार्न अपरिहार्य छन्। शिक्षकले पाठ्यपुस्तकबाट मात्र सिक्दैन, उसले आफ्ना शिक्षकलाई हेरेर पनि सिक्छ। भोलिको शिक्षकले आजको शिक्षक–शिक्षकको व्यवहारलाई नै पेडागोजिकल नमुना बनाउन सक्छ। त्यसैले शिक्षक–शिक्षामा ‘मैले जसरी पढाउँछु, त्यसरी गर, मैले जसरी गर्छु, त्यसरी होइन’ भन्ने विरोधाभास टिक्न सक्दैन।

पाठ्यपुस्तकभन्दा शिक्षक माथि

पाठ्यपुस्तक त्रुटिरहित हुँदैन। पाठ्यक्रम पूर्ण हुँदैन। कुनै उदाहरण समयसापेक्ष नहुन सक्छ। कुनै तथ्य पुनःजाँच गर्नुपर्ने हुन सक्छ। कुनै विषयवस्तु स्थानीय सन्दर्भसँग नमिल्न सक्छ। यस्तो अवस्थामा सक्षम शिक्षकले पुस्तकलाई धर्मग्रन्थझैं अक्षरशः पढाउँदैन। उसले प्रश्न गर्छ, स्रोत जाँच्छ, तुलना गर्छ, अर्को दृष्टिकोण ल्याउँछ र विद्यार्थीलाई पनि प्रश्न गर्न लगाउँछ। यही शिक्षकको स्वायत्त सक्रियता हो। शिक्षक स्वायत्त सक्रियता भनेको शिक्षकले जे मन लाग्यो त्यही गर्नु होइन, आफ्नो व्यावसायिक ज्ञान, नैतिकता र सन्दर्भका आधारमा उत्तरदायी निर्णय गर्न सक्ने क्षमता हो।

शिक्षकको व्यावसायिक विकास तालिम होइन, संस्कृति हो

नेपालमा शिक्षक तालिम नयाँ कुरा होइन तर तालिम लिएर प्रमाणपत्र प्राप्त गर्नु र आफ्नो शिक्षण व्यवहार परिवर्तन गर्नु फरक कुरा हुन्। एकपटक पाँच दिन तालिम लिएर शिक्षक जीवनभरका लागि ‘प्रशिक्षित शिक्षक’ हुँदैन। व्यावसायिक विकास निरन्तर प्रक्रिया हो। यसमा मार्गदर्शन, सहकर्मी कक्षा अवलोकन, पाठ अध्ययन, कार्यगत अनुसन्धान, प्रतिबिम्बात्मक अभ्यास, व्यावसायिक सिकाइ समुदाय र सहकर्मी संवादको महत्त्व हुन्छ।

यसको वास्तविक शक्ति संरचनाभन्दा संस्कृतिमा हुन्छ। के एक शिक्षक अर्को शिक्षकको कक्षा हेर्न सहज महसुस गर्छ? के कक्षा अवलोकनलाई निरीक्षण होइन, सिकाइको अवसर मानिन्छ? के शिक्षकले ‘आज मेरो कक्षा राम्रो भएन’ भन्न सक्छ? के शिक्षकबिच असफल पाठमाथि पनि व्यावसायिक छलफल हुन्छ? हुँदैन भने व्यावसायिक विकास अझै संस्कृति बनेको छैन।

विश्वविद्यालयतिर केही फर्किएका सवालहरू

विद्यालय शिक्षक कमजोर छन् भने विश्वविद्यालय आफूलाई प्रश्नबाट अलग राख्न सक्दैन। विशेष गरी शिक्षा संकाय र शिक्षक शिक्षा कार्यक्रमले अझ गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। हाम्रा बिएड, एमएड र अन्य शिक्षक तयारी कार्यक्रम कति अभ्यासमुखी छन्? कति समय वास्तविक विद्यालयमा बिताइन्छ? शिक्षण अभ्यास वास्तविक शिक्षण अभ्यास हो कि औपचारिकता ? सुपरिवेक्षकको प्रतिक्रिया कति गहिरो हुन्छ? सूक्ष्म शिक्षण, पाठयोजना, कक्षाकोठा अनुसन्धान, प्रतिबिम्बात्मक दैनिकी, सहकर्मी प्रतिक्रिया र मार्गदर्शन कति व्यवस्थित छन्?

पाठ्यक्रम आफैं पढाउँदैन, शिक्षकले पढाउँछ

नेपालको शिक्षा सुधारका लागि पाठ्यक्रम परिवर्तन आवश्यक छ। परीक्षा सुधार आवश्यक छ। डिजिटल पूर्वाधार आवश्यक छ। विद्यालय भवन आवश्यक छन्। पर्याप्त बजेट आवश्यक छ। समावेशी नीति आवश्यक छ तर यीमध्ये कुनै पनि सुधार शिक्षकलाई बाइपास गरेर कक्षाकोठामा पुग्दैन। पाठ्यपुस्तक आफैं अर्थ निर्माण गर्दैन, शिक्षकले त्यसलाई अर्थपूर्ण बनाउँछ।

प्रविधि आफैं पेडागोजी हुँदैन– शिक्षकले प्रविधिलाई पेडागोजीमा रूपान्तरण गर्छ। नीति आफैं व्यवहार बन्दैन, शिक्षकले त्यसलाई कक्षाकोठाको अभ्यासमा अनुवाद गर्छ। त्यसैले नेपालमा शिक्षा सुधारको मूल प्रश्न केवल ‘हाम्रा शिक्षक कति सक्षम छन्?’ मात्र होइन। त्यसभन्दा पहिले सोधिनुपर्ने प्रश्न हो– ‘हाम्रा शिक्षकलाई कसले सिकाउँछ ?’ र त्यसपछि अझ कठिन प्रश्न आउँछ– ‘हाम्रा शिक्षकलाई पढाउनेहरू स्वयं कस्ता शिक्षक हुन् ?’

–पाण्डे अंग्रेजी शिक्षा विभाग, कीर्तिपुरका पूर्वप्रमुख हुन्।

प्रकाशित: १९ कार्तिक २०८३ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %