अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।
उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको एउटा कारण इरान युद्ध भएको बताएपछि ट्रम्पले प्रतिक्रिया दिएका हुन्।
इरान युद्धका कारण चुनावमा हार बेहोर्नुपरेको हो भन्ने प्रश्नमा ट्रम्पले त्यसलाई धेरै हदसम्म सही मानेका छन्। युद्धका कारण केही समयका लागि पेट्रोलको मूल्य बढेको स्वीकार गर्दै उनले फेरि पनि त्यस्तै परिस्थिति आए युद्ध गर्ने निर्णय लिने बताएका छन्।
‘मलाई लाग्छ यो कुरा धेरै हदसम्म सही हो, किनकि यसका कारण केही समयका लागि पेट्रोलको मूल्य थोरै बढेको थियो। तर त्यसका बाबजुद, यदि मैले फेरि यस्तो गर्नुपर्यो भने म फेरि गर्नेछु। किनकि दीर्घकालीन दृष्टिकोणले यही एकमात्र बाटो हो,’ ट्रम्पले भने।
उनले इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्नुको विकल्प नरहेको दाबीसमेत गरेका छन्।
‘तपाईं इरानलाई परमाणु हतियार हासिल गर्न दिन सक्नुहुन्न। तपाईंसँग अर्को विकल्प छैन। तेलको मूल्य यसभन्दा धेरै बढ्नेछ भन्ने मलाई लागेको थियो र मैले यही आधारमा यो निर्णय लिएको थिएँ। तपाईंसँग कुनै विकल्प छैन। तपाईंले यो गर्नैपर्छ,’ उनले भने।
ट्रम्पले इरानले परमाणु हतियार हासिल गरे त्यसले अमेरिकासहितको वर्तमान विश्व व्यवस्थामै खतरा उत्पन्न गर्न सक्ने चेतावनी पनि दिएका छन्।
‘तपाईं इरानलाई परमाणु हतियार हासिल गर्न दिन सक्नुहुन्न। अन्यथा, आज तपाईंले यहाँ जे देखिरहनुभएको छ, सम्भव छ कुनै दिन त्यसको अस्तित्व नै नरहोस्,’ उनले भने।
मध्यावधि चुनावपछि बदलिएको राजनीतिक परिस्थितिबारे बोल्दै ट्रम्पले डेमोक्र्याटहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। तर उनीहरूले अवरोध सिर्जना गर्न नहुने उनको सर्त छ।
‘उनीहरूले अवरोध गर्ने प्रयास नगरेसम्म म डेमोक्र्याटहरूसँग मिलेर काम गर्नेछु। तर हामीसँग भिटोको शक्ति छ। यद्यपि, उनीहरूले यसअघि नै फोन गरिसकेका छन् र उनीहरू केही मुद्दामा कुरा गर्न चाहन्छन्,’ ट्रम्पले भनेका छन्।
प्रकाशित: १९ कार्तिक २०८३ ०८:३२ बिहीबार





