२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

विपन्न र अति विपन्नका लागि आवास ऋण दिँदै कोहलपुर

फाइल तस्बिर

कोहलपुर नगरपालिकाले विपन्न नागरिकका लागि नयाँ घर निर्माण तथा मर्मत गर्न एक लाख रुपैयाँसम्मको आवास ऋण सहयोग उपलब्ध गराउने भएको छ । नगरपालिका, लुमन्ती र एनएमबी बैंकको सहकार्यमा सञ्चालित ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत यस्तो सुविधा ल्याएको हो ।

विपन्न र अति विपन्न नगरवासीको आवासीय अवस्था सुधार गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले एनएमबी बैंकको सहकार्यमा सञ्चालनमा ल्याएको आवास निर्माण कार्यक्रमअन्तर्गत घर निर्माण वा मर्मत गर्न चाहने नगरवासीहरूलाई एक लाख रुपैयाँसम्मको ऋण सहायता उपलब्ध गराउने भएको हो ।

नगर कार्यपालिकाको कार्यालयद्वारा वडा नम्बर १ देखि १५ सम्मका सबै वडाध्यक्षलाई सूचनासमेत पठाइएको छ । नगरस्तरीय कार्यक्रममार्फत घर नहुने, जीर्ण घरमा बसोबास गरिरहेका वा आर्थिक अभावका कारण घर मर्मत गर्न नसकेका नगरवासीहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो ।  

यस कार्यक्रमअन्तर्गत लाभग्राहीहरूले अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण पाउने छन् । ऋण अवधि ७ वर्ष सम्मको हुनेछ भने वार्षिक ब्याजदर ८ दशमलब ५ प्रतिशत कायम गरिएको छ । नगरपालिकाले भनेको छ कि यो ब्याजदर आगामी सात वर्षसम्म स्थिर रहनेछ, अर्थात समयमै ऋण भुक्तानी गर्नेलाई कुनै अतिरिक्त आर्थिक भार नपर्नेछ ।

नगरपालिकाका अनुसार यो कार्यक्रम साना आम्दानी भएका र आवासविहीन वा जीर्ण घर भएका व्यक्तिहरूलाई स्वाभिमानसाथ बस्न सक्ने वातावरण सिर्जना गर्नका लागि ल्याइएको हो । स्थानीय सरकारले टोल विकास संस्था र वडा कार्यालयमार्फत लाभग्राहीको पहिचान गरी ऋण प्रदान प्रक्रिया अघि बढाउनेछ । ऋणका लागि इच्छुक सेवाग्राहीहरूले टोल विकास संस्थाको सिफारिस, सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गा धनी प्रमाण (लालपुर्जा), नागरिकताको प्रतिलिपि, घर निर्माण गर्न लागिएको नक्सा र आवेदकको फोटो आवश्यक पर्नेछ । निवेदन दिनको अन्तिम मिति २०८२ साल साउन मसान्तसम्म तोकिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले हस्ताक्षरित सूचनामा भनिएको छ, ‘वास्तवमै आवश्यक व्यक्तिहरूले समयमै आवेदन दिई यो सुविधा लिनु महŒवपूर्ण छ ।’ साथै, नगरपालिकाले सामाजिक समावेशीता, समानता र स्वाभिमानयुक्त जीवनका लागि यस्तो कार्यक्रम अगाडि बढाएको बताइएको छ । यस कार्यक्रमबाट नगर क्षेत्रका विपन्न समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । घरको अभावका कारण शिक्षा, स्वास्थ्य र सुरक्षाको अभावमा बसिरहेका परिवारहरूलाई यो कार्यक्रमले दीर्घकालीन राहत दिने विश्वास गरिएको छ ।

 

प्रकाशित: १३ श्रावण २०८२ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App