११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

जानेर, बुझेर, नियतबस कुनै खराब काम गर्ने छैन: सञ्चारमन्त्री खरेल

‘जस्तो गएको थिएँ, त्यस्तै फर्किनेछु, निधारमा दागको छिटा पर्न दिने छैन’

फाइल।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू पदमा रहुन्जेल नियतबस कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

२५ वर्ष लामो पत्रकारिता यात्रापछि विशेष परिस्थितिमा मन्त्री बनेको उल्लेख गर्दै उनले आफ्नो इमान र निष्ठामा कुनै दाग लाग्न नदिने वाचा गरेका हुन्।

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताए।

‘म एउटा बाचा यहाँहरू सबैलाई साक्षी राखेर गर्छु,’ उनले भने, ‘जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन। बरु जस्तो गएको थिएँ, त्यस्तै फर्किनेछु। कति गरेँ, कति गरिनँ, त्यसको हिसाबकिताब समयले गर्ला।’

आफूले पाएको सम्मानको गरिमामाथि कुनै पनि दाग लाग्न नदिने उनको भनाइ थियो। उनले थपे, ‘बिगारेर आएर हाम्रो निधारमा तैंले लगाएको दागको छिटा पर्‍यो नि भन्ने अवस्था आउन दिने छैन।’

आफूलाई मन्त्रीभन्दा पनि एक सञ्चारकर्मीकै रूपमा उभ्याउँदै उनले आफ्नो छोटो कार्यकालमा ‘जेन-जी’ आन्दोलनले दिएको म्यान्डेट पूरा गर्न र नागरिक सरकारको लक्ष्य हासिल गर्न केन्द्रित रहने बताए।

‘मेरो लागि हनिमुन पिरियड पनि छैन, तीन महिनापछि त जाने दिन सुरु हुन्छ,’ उनले भने, ‘त्यसैले यो छोटो अवधिमा देश र जनताको पक्षमा सकेको योगदान गर्नेछु।’

प्रकाशित: ३० आश्विन २०८२ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App