प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति रामहरि खतिवडाले आफूलाई लछारपछार गरिएको खुलासा गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै खतिवडाले यस्तो बताएका हुन्।
'१०/१२ दिन भइसक्यो, विधेयक जाँदैन जाँदैन। त्यसपछि मैले भनेँ- लु तयार पार्नुस् अब लानुपर्छ। मिटिङ राखौँ भने त्यहाँ सबै आएर घेर्ने, ४ गते कि ५ गते हो मेरो त्यहाँ समितिमा आएर २/३ सय जना मान्छे आएर लाछलुछ गरेर लोगो नै हरायो। पूरै लछारपछार नै गरियो। कोठामा, मिटिङ कोठामा त्यतिकै मान्छे, बाहिरपट्टि २/३ समय मान्छेले घेरेका छन्। मिटिङ गर्दाखेरि बाहिर पुलिस राखेका छौँ। छेउमा आएर फलानाले यो बोल्यो, यो के गर्ने भन्ने,' उनले भने।
खतिवडाले जेठ २ गते नै पास भएको सङ्घीय निजामती सेवा विधेयक शिक्षामन्त्री रघुजीपन्तकोमा आएको एउटा फोनले रोकेको पनि बताए। '६ गतेका दिन हामी बस्दै थियौँ, त्यहाँ माननीय रघुजी पन्तकोमा एउटा फोन आयो, फोन कसको आयो, माथिकै फोन भन्नभयो, मलाई पनि दिनुभयो। नाम अहिले भन्दिनँ। अनि ल त्यो कुलिङ पिरियड त हटाउनुपर्यो अब भनेर फोन आयो। मैले भनेँ- म हटाउन सक्दिनँ। सर्वसम्मत पारित भइसक्यो, यो त हटाउने कुरै भएन। संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार; त्यहाँ पो राखौँ। त्यहाँ नराखौँ भन्नुभयो। सर्वसम्मत पारित भएकोलाई के गर्ने ? दुई चार दिन विधेयक रोकियो, जेठ २ गते पास भएको, जेठभरि विधेयक नै जाँदैन। समस्या हुनेभयो,' उनले भने।
उनले कुलिङ पिरियडमा भएको कमीकमजोरीको भागीदार आफू मात्रै नहुने जिकिर गरे। पूरै संसद्ले नै पास गरेको उल्लेख गर्दै उनले भने, 'कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले जानकारी गराउनुपर्छ, यसको असर त्यहाँ पुग्छ भनेर तर, त्यस्तो भएन।'
प्रकाशित: २८ श्रावण २०८२ १९:५१ बुधबार





