काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएको भन्दै फोहोर संकलन गर्न नसकिने बताएको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि आ-आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरिएको छ।
पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।
यसअघि पनि पटक-पटक यस्तै अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुँदै आएको थियो।
महानगरपालिकाले समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै फोहोर संकलनको काम सुचारु गरिने जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८२ १५:०८ शुक्रबार





