२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

काठमाडौं-४ गगनले छाड्दा नमज्जा: पुकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार पुकार बमले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा नहुँदा ‘थ्रिलर’ कम भएको टिप्पणी गरेका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधबार प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा बमले बलियो प्रतिस्पर्धी मैदानमा नहुँदा चुनावी रौनक र मज्जा सोचेजस्तो नभएको बताएका हुन्।

लामो समयदेखि थापाले जित्दै आएको यो क्षेत्रलाई कांग्रेसको राजनीतिक ‘गढ’ र विरासतका रूपमा चित्रण गरिँदै आएको छ। बमले आफू त्यही विरासत र प्रवृत्तिलाई चुनौती दिन आएको तर मुख्य प्रतिस्पर्धी नै मैदान छाडेर अन्यत्र गएपछि खल्लो महसुस भएको बताए।

उनले भने, ‘म जुन कारणले यो ठाउँमा हिम्मत गरेर आएँ, उहाँ (गगन थापा) भइदिएको भए त्यो विरासतको राजनीति तोड्ने न्यारेटिभ स्थापित गर्न अझ मज्जा आउँथ्यो। साँच्चिकै युद्धमैदानमा जाँदै गर्दा अपोनेन्ट सामान्य हुँदा अलिकति नमज्जा त हुँदोरहेछ। उहाँ नहुँदा थ्रिलर कम भयो।’

थापाले काठमाडौं–४ छाड्दा चुनाव जित्न सजिलो भयो कि भन्ने प्रश्नमा बमले यसलाई जित–हारको सहजताभन्दा पनि राजनीतिक सन्देशका रूपमा व्याख्या गर्नुपर्ने बताए। ‘उहाँले एउटा ठाउँ सजिलो पारिदिनुभयो होला तर जुन खालको एउटा न्यारेटिभ भत्काउन म आएको छु, त्यो अवसर गुम्यो’, बमले थपे।

बमले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गरेको उदाहरण दिँदै आफूले पनि काठमाडौं–४ मा बलियो प्रतिस्पर्धीसँग लड्न रुचाएको तर त्यो सम्भव नभएको बताए।

मुलुकमा ३०–४० वर्षदेखि जरा गाडेर बसेको राजनीतिक सिन्डिकेट तोड्न आफू सक्षम रहेको उनको दाबी छ। बमले आफूले १० हजार बढी मतान्तरले चुनाव जित्ने दाबीसमेत गरेका छन्।

प्रकाशित: १५ माघ २०८२ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App