जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
बस्नेतका अनुसार विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गरिने छ।
त्यसैगरी बैठकले संघीय लोकतान्त्रिक मोर्चालाई अझ बढी क्रियाशील, प्रभावकारी र सबल बनाउने, संघीयता, समानता, लोकतन्त्र, गणतन्त्र, धर्मनीरपेक्षता, समावेशिता र सामाजिक न्यायका विरुद्ध रहेका प्रतिगमनकारी शक्तिलाई परास्त गर्न समय र परिस्थिति अनुसार अन्य दल वा मोर्चासँग पनि सहकार्य गर्ने निर्णय गरेको बताइएको छ।
जेनजी आन्दोलनपश्चात दलहरू एकता, मोर्चा र सहकार्यका प्रयत्न गरिरहेका छन्। असोजको दोस्रो साता जसपा नेपाललगायतका पाँच राजनीतिक दलका युवा नेताहरूले समाजवादी विचार बोकेका राजनीतिक दलहरूले एकता गर्नुपर्ने भन्दै पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका थिए।
प्रकाशित: २१ आश्विन २०८२ ०८:५५ मंगलबार





