११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नेपाल हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

फाइल।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधार लगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन्।

झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको बुधबार उद्घाटन गर्दै उनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राखे।

‘विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन। यहाँ प्राकृतिक स्रोत पर्याप्त छ, हामी सांस्कृतिक सम्पदामा धनी छौँ’, उनले भने, ‘स्रोतको सही सदुपयोग गर्दै परिणाम प्राप्त गर्न मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन गर्न आवश्यक छ।’

शिक्षा नीति, राजनीति र नेतृत्व सही भएमा देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ सबैले सकारात्मक समन्वय गरी देश विकासमा लाग्नुपर्नेमा जोड दिए।

‘सात–आठ वर्ष अघि कालोपत्र सडक हेर्न छिमेकी पालिका बिर्तामोड र भारत जानुपर्ने अवस्थाका थियो’, उनले भने, ‘अहिले हल्दिबारीका सबै मुख्य सडकहरू कलोपत्र भइसकेका छन्, यो विकासको चरणअन्तर्गत पर्दछ।’

पूर्वाधार निर्माण हुनुमात्र ठूलो विषय नभई त्यसको संरक्षण गर्दै त्यसको माध्यमबाट नागरिकको जीवनस्तर उठाउनेतर्फ योजनाबद्ध काम गर्नुपर्ने उनले बताए।

अध्यक्ष लिङ्देनले भने, ‘सडक बनेको छ, सडकको संरक्षण र सम्वर्द्धन गर्दै रोजगारी सृजना गर्नतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ।’

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिकामा सबैभन्दा कम बजेट प्राप्त हुने गरेको बताउँदै सोही कारणले आन्तरिक आम्दानी पनि कम हुने गरेको उल्लेख गरे।

उनले प्राप्त बजेटका आधारमा विकास, निर्माणलाई सन्तुलित रूपमा अघि बढाउँदै लगेको जानकारी दिए।

‘गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क पठनपाठन र १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको छ’, उनले भने, ‘नागरिकलाई धेरैभन्दा धेरै सुविधा दिने गरी बजेटको प्रयोग गरिरहेका छौँ।’

आगामी दिनमा पूर्वाधार विकास, सुविधा विस्तारलगायत क्षेत्रमा आवश्यकता अनुसार काम गर्दै जाने उनको भनाइ छ।

प्रकाशित: २ पुस २०८२ १७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App