जनता समाजवादी पार्टी (जसपा) नेपालले मुलुकमा लगानी मैत्री वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।
देशलाई औद्योगिकीकरण गरी गरिबी, बेरोजगारी र पछ्यौटेपनलाई अन्त्य गर्न उद्योग, कलकारखानालगायतका उत्पादन क्षेत्रहरूमा राष्ट्रिय र वैदेशिक पुँजी तथा प्रविधि ल्याउन लगानी मैत्री वातावरणको सृर्जना गरिनुपर्नेमा जसपा नेपालले जोड दिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।
उद्योगहरूलाई संरक्षण र प्रोत्साहन गर्ने, साना तथा मझौला उद्योगहरूलाई विशेष सहुलियत तथा प्राथमिकता दिनुपर्ने भन्दै वैज्ञानिक भू–उपयोग नीति लागु गरी कृषि क्रान्तिको माध्यमबाट कृषिको व्यावसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गरी कृषिमा निर्भर गरिब जनताको जीवनस्तरमा सुधार गरी मुलुकलाई विकास, समृद्धि र समुन्नत बनाउन ठोस नीति, कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयन गरिनुपर्ने पार्टीको धारणा रहेको बस्नेतको भनाइ छ।
किसानहरूलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने, सिँचाइ, मल खाद, बिऊ–विजन, किट्नाषक औषधी र कृषि बजारको व्यवस्था हुनुपर्नेमा जसपा नेपालको जोड रहेको छ।
बढ्दो महङ्गी नियन्त्रण, अत्यन्त गरिब र विपन्न वर्गका लागि सस्तो दरमा खाद्यन्न उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्न सरकारसमक्ष पार्टीले माग गरेको छ।
प्रकाशित: १२ मंसिर २०८२ ०८:५७ शुक्रबार





