१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भूमि विधेयकविरुद्ध जसपा सडकमा आउने, देशभर एकहप्ते प्रदर्शनको घोषणा

जनता समाजवादी पार्टी, नेपालले सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयक ‘राष्ट्रहितविपरीत’ भएको भन्दै देशव्यापी रूपमा एकहप्ते विरोध प्रदर्शनको घोषणा गरेको छ।

पार्टीले उक्त विधेयकले भू-माफिया र जग्गा दलाललाई हित गर्ने तर तराई/मधेशलाई मरुभूमीकरणतर्फ धकेल्ने आरोप लगाएको छ।

जसपा नेपालका महासचिव लालबाबु राउतद्वारा जारी विज्ञप्तिअनुसार, यही भदौ ९ गतेदेखि १५ गतेसम्म देशका विभिन्न शहरहरूमा विधेयकविरुद्ध विरोध प्रदर्शन गरिनेछ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौ ५ गते प्रक्रिया अगाडि बढाएपछि जसपाले आन्दोलनको घोषणा गरेको हो। पार्टीले आफूहरूले सुरुदेखि नै विधेयकको विपक्षमा आवाज उठाउँदा पनि सरकारले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।

‘भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/मधेश मरुभूमीकरण हुनेगरी सरकारले ल्याउन लागेको हो,’ विज्ञप्तिमा भनिएको छ।

जसपाले वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र पर्यावरणको संरक्षण गर्न तथा जल, जंगल र भूमिको रक्षा गर्न आन्दोलनमा उत्रिनु परेको जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८२ १७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App