१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

जुट्न नसके राष्ट्रिय भेला गर्ने जितजंग बस्नेतको चेतावनी

आत्मसम्मान बेचेर होइन, सम्मानका लागि एकता

नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आत्मसम्मान गुमाएर हुने पार्टी एकताको कुनै अर्थ नरहने बताएका छन्। उनले लोकतन्त्रको रक्षा गर्न सम्मानजनक आधारमा पार्टी एकता आवश्यक रहेको उल्लेख गर्दै, त्यो सम्भव नभए वैकल्पिक राजनीतिक मार्ग रोज्नुपर्ने धारणा राखेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले नेतृत्वलाई स्पष्ट निर्णय लिन आग्रह गरे। उनले सम्मान कायम राखेर एकता गर्नुपर्नेमा जोड दिँदै, त्यसो हुन नसके राष्ट्रिय भेला आयोजना गरेर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।

‘एकता भनेको शिर झुकाएर वा आत्मसम्मान मारेर गर्ने विषय होइन। एकता सम्मानका लागि हुनुपर्छ। लोकतन्त्र जोगाउन एकता अपरिहार्य छ,’ उनले भने, ‘यदि एकता सम्भव हुँदैन भने हामी निष्क्रिय भएर बस्न सक्दैनौं। राजनीति गर्ने मानिस भएकाले आगामी दिनमा राष्ट्रिय भेला गरेर अघि बढ्नुपर्छ।’

बस्नेतले नेताहरूलाई डर र दबाबबाट मुक्त भएर निर्णय लिन पनि आग्रह गरे। ‘म सबैलाई खुट्टा नकमाउन आग्रह गर्छु। एकता गरौं, नभए दृढतापूर्वक अघि बढौं,’ उनले भने।

कार्यक्रममा उनले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको भनाइ उद्धृत गर्दै मुलुकका विभिन्न राज्य संयन्त्रमा विकृति फैलिएको टिप्पणी गरे। ‘बाघले सबैलाई खान्छ भन्ने कुरा पहिले हामीमाथि लागू भइसकेको थियो। अहिले त्यो बाघले न्यायालयदेखि कर्मचारीतन्त्रसम्म प्रभावित बनाइसकेको छ,’ उनले भने।

बस्नेतले यस्ता चुनौतीको सामना गर्न बीपी कोइरालाको सिद्धान्त र विचारलाई मार्गदर्शक बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। आवश्यक परे लोकतन्त्र र सुशासनको पक्षमा सडक आन्दोलनको नेतृत्व गर्न पनि आफूहरू तयार रहेको उनको भनाइ थियो।

 

 

प्रकाशित: ६ श्रावण २०८३ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App