२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

झलनाथ भन्छन्: समाजवादी क्रान्तिको नयाँ बहस : पुराना कार्यक्रमले अब पुग्दैनन्

पूर्वप्रधानमन्त्री खनाल ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई अब समाजवादी क्रान्तिको नयाँ चरणअनुसार पुनर्संरचना गर्दै अघि बढाउन ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन्।

सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले विगतको राजनीतिक चरणका कार्यक्रमले वर्तमान युगको समाजवादी रूपान्तरण सम्भव नहुने धारणा राखे।

उनले नयाँ जनवादी क्रान्तिको चरणका कार्यक्रमलाई निरन्तरता दिएर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने उल्लेख गर्दै समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र–शत्रु सम्बन्ध तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति सबै परिवर्तन भइसकेको बताए। त्यसअनुसार कम्युनिष्ट आन्दोलनले पनि आफ्नो वैचारिक दिशा र कार्यनीति पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए।

खनालले भने, ‘एउटा पार्टीको रूपमा यो पार्टीलाई विकसित नगरिकन समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन छ। अब समाजवादी क्रान्तिको युग सुरु भएको छ। त्यसैले अबको क्रान्तिको कार्यक्रम के हो भन्ने विषयमा गम्भीर बहस अगाडि सार्न आवश्यक छ। नयाँ जनवादी क्रान्तिको कालका कार्यक्रम बोकेर अबको क्रान्ति पूरा गर्न सकिँदैन। समय बदलिएको छ, क्रान्तिको स्वरूप फेरिएको छ, समाजको प्रधान अन्तर्विरोध बदलिएको छ, मित्र–शत्रुको समीकरण फेरिएको छ र अन्तर्राष्ट्रिय परिस्थिति पनि व्यापक रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा वैज्ञानिक समाजवादमा आधारित नयाँ रूपान्तरणको कार्यक्रम आवश्यक छ।’

उनका अनुसार आफूले लेखेको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकले यही वैचारिक बहसलाई प्रतिनिधित्व गरेको छ। उनले नेपालका कम्युनिष्ट शक्तिहरू साझा कार्यक्रमका आधारमा एकताबद्ध भई वैज्ञानिक समाजवादको नयाँ मार्गचित्र सार्वजनिक गर्नुपर्ने समय आएको बताए।

खनालले माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार संसारका हरेक वस्तु र संस्थाको उत्पत्ति तथा अन्त्य हुने प्रक्रिया स्वाभाविक रहेको उल्लेख गर्दै यही नियम राजनीतिक दलहरूमा पनि लागू हुने तर्क प्रस्तुत गरे।

उनले आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थामा आधुनिक अर्थका राजनीतिक दलको अवधारणा नरहेको बताउँदै पुँजीवादको विकाससँगै पुँजीपति तथा श्रमिक वर्गका राजनीतिक शक्तिहरूको उदय भएको धारणा राखे।

कम्युनिष्ट पार्टीका तीन ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले पहिलो चरणमा जनवादी क्रान्ति सम्पन्न गर्ने, दोस्रो चरणमा समाजवादी क्रान्ति सम्पन्न गर्ने र तेस्रो चरणमा समाजवाद निर्माण गर्दै समाजलाई साम्यवादसम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उनका अनुसार यी ऐतिहासिक कार्य सम्पन्न भएपछि कम्युनिष्ट पार्टीको आवश्यकता पनि समाप्त हुने अवस्था आउँछ।

खनालले वर्तमान पुँजीवादी व्यवस्थाले भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता संरचनागत समस्याको समाधान गर्न नसकेको दाबी समेत गरे।

प्रकाशित: १५ असार २०८३ १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App