नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले भ्रष्टाचारको गम्भीर आरोप लागेका व्यक्तिलाई पार्टीको उच्च नेतृत्वमा राख्नु अनैतिक भएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गरेका छन्।
३६ बुँदे असन्तुष्टि पत्रमार्फत खनालले १९ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा खेपिरहेका माधवकुमार नेपाललाई सह-संयोजक बनाइनुले पार्टीको छवि धुमिल भएको दाबी गरेका हुन्।
खनालले विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको व्यक्तिलाई एकताको नाममा सह-संयोजक बनाइनु राजनीतिक र नैतिक रूपले गलत भएको उल्लेख गरे।
उनले प्रश्न गरे, ‘जुन व्यक्तिलाई त्यस्तो मुद्दा लागेका कारण सांसद पदबाट निलम्बन गरिएको थियो र हालैको निर्वाचनमा शर्मनाक हार बेहोर्नुपर्यो, उनैलाई पार्टीको सह-संयोजक बनाउनु कति उचित हो ?’
पत्रमा खनालले भ्रष्टाचार मुद्दा लागेको व्यक्तिलाई संसदीय दलको नेता बन्ने अधिकार नहुने र सांसद पदसमेत नरहने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सोही नियम पार्टी नेतृत्व चयनमा किन लागू भएन भन्दै संयोजक प्रचण्डसँग जवाफ मागेका छन्।
‘भोलि अदालतले दोषी ठहर गर्यो भने पार्टी नेतृत्वको हालत के हुन्छ ? यो नैतिक प्रश्न हो कि होइन ?’ खनालले प्रश्न गरे।
नेता खनालले यसअघि नेकपा (एस) मा रहँदा पनि आफूले माधव नेपाललाई नैतिकताको आधारमा राजीनामा दिएर अदालतको फैसला कुर्न लिखित सुझाव दिएको बताए। तर, संयोजक प्रचण्डले ती सबै तथ्यलाई बेवास्ता गर्दै नेपाललाई उच्च पद दिएर पार्टीमा दक्षिणपन्थी अवसरवाद भित्र्याएको खनालको आरोप छ।
उनले भनेका छन्, ‘अदालतको फैसला नआउँदै नयाँ स्थापना भएको पार्टीको सह-संयोजक बनाउनु कुनै पनि अर्थमा नैतिकताको कुरा होइन।’
संयोजक र सह-संयोजकबीचको ‘सेटिङ’ ले पार्टीलाई विघटनको दिशामा लैजान लागेको भन्दै खनालले नेतृत्वले तत्काल निकास दिनुपर्ने माग गरेका छन्।
उनले भ्रष्टाचार र वैचारिक विचलनको भारी बोकेको नेतृत्वबाट वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त हुन नसक्ने ठोकुवा गरे। नयाँ र स्वच्छ छवि भएका नेतालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।
प्रकाशित: ३ असार २०८३ १९:०२ बुधबार



-600x400.jpg)

