२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपालीकै चाहना बमोजिम जापानको निरन्तर सहयोग रहन्छ : राजदूत माएदा

नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उजागर गर्दै जापानले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहना बमोजिम निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एशोसीयसन नेपाल (जान) को ५२औँ वार्षिक समारोह उद्घाटन गर्दै राजदूत माएदाले यस्तो बताइएका हुन्। कार्यक्रमका प्रमुख आतिथि समेत रहेका उनले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न जानले पुर्‍याएको महत्वपूर्ण योगदानप्रति आभार प्रकट गरे।

उनले भविष्यमा यो सम्बन्धलाई अझ सुदृढ र दिगो बनाउन आवश्यक रहेको औंल्याए। सो अवसरमा राजदूत माएदाले जानले नेपाल-जापान सम्बन्ध सुदृढ गर्न तथा आपसी संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको प्रशंसा गर्दै जापान-नेपालको ७० औं वर्षगाँठ नेपाल जापानको सम्बन्ध थप विस्तार गर्न कोशेढंगा सावित हुने विश्वास गरे। उनले वर्तमान अवस्थामा जानको सदस्यता विस्तारमा नवयुवाहरूलाई प्रोत्साहन गर्न समेत आग्रह गरे।  

जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल–जापान सम्बन्ध सुदृढ गर्न जानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै निरन्तर सहकार्यको महत्वबारे आफ्ना धारणा राखे। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ सम्बन्धी प्रस्तुतिमाथि छलफल गर्दै उनले जापानले नेपालको रुपान्तरणमा ४० वर्षभन्दा लामो सहकार्य विषयमा जाइकाले पुर्‍याएको योगदानबारे प्रस्तुतीकरण गर्दै नेपालको आर्थिक विकास, शान्ति, सम्वृद्धि तथा र दिगो विकासका लागि शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास, एवं पूर्वाधारलगायत २१ वटा क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बताए।

सो क्रममा उनले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुद पार्दै आगामी दिनमा जापानी सहयोग निरन्तर जारी रहने वचनबद्धता प्रकट गरे। कार्यक्रमको अवसरमा जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले जापान-नेपाल सम्बन्धमा जानले पुर्‍याएको योगदानलाई उच्च सम्मान गर्दै यस प्रकारको कार्यमा जानसंग सहकार्य गर्न जाइका नेपाल सदैव सकारात्मक रहेको विचार व्यक्त गरे।  

प्रस्तुतिको क्रममा जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानी संस्कृति तथा जापानी जनताको इमान्दार व्यवहारलाई प्रकाश पार्दै जापानी संस्कार, संस्कृति र सुशासनयुक्त पद्दतिवाट नेपाल राष्ट्र निर्माणको आधारस्तम्भका रूपमा लिन सक्नपर्ने बताए।  

कार्यक्रममा उपस्थितहरूलाई जानका उपाध्यक्ष डा. किरण रूपाखेतीले स्वागत मन्तव्य दिँदै सहकार्य, समन्वय र साझेदारीका आधारमा नवप्रवर्द्धन, नवयवा क्षमता विकासमा नेपाललाई पर्याएको सहयोगको प्रशंसा गर्दै उक्त सहयोगको निरन्तरताको अपेक्षा गरे। सो अवसरमा जानका महासचिव शान्ति लक्ष्मी शाक्याले जानका गतिविधिहरूको संक्षिप्त जानकारी प्रस्तुत गर्दै नेपाल जापान सम्बन्ध विकासमा जानले महत्वपूर्ण योगदान पुर्‍याएको विषयमा चर्चा गरेकी थिइन्।

कार्यक्रममा माएदाले जानद्वारा वार्षिक रूपमा प्रकाशन गरिने “मिलन” पत्रिकाको औपचारिक विमोचन गरे। साथै, उक्त प्रकाशनमा योगदान पुर्‍याउने लेखकहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। सो अवसरमा प्रमख अतिथिद्वारा विगत दुई दशकभन्दा बढी समयदेखि जानको मिलन पत्रिकाको प्रधान सम्पादक रही महत्वपूर्ण योगदान पुर्‍याएकोमा जानका आजीवन सदस्य तथा कार्यसमितिका निवर्तमान सदस्य सिमाविद वुद्धिनारायण श्रेष्ठलाई अभिनन्दन गरिएको थियो।  

कार्यक्रमको समापनका अवसरमा कार्यक्रमको अध्यक्षता गरेका जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालको दिगो विकासमा जापानी दतावास र जाइकाले नेपालको सामुदायिक विकास, भूकम्प लगायतका प्राकृतिक विपत्तिमा सहयोग र आर्थिक समाजिक र साँस्कृतिक विकास र प्रवर्द्धनमा पुर्‍याएको भूमिका प्रति आभार प्रकट गर्दे यस किसीमको सहयोग निरन्तर रहने अपेक्षा गरे। साथै, उनले प्रमुख अतिथि, विशिष्ठ अतिथिहरू, जापानी दूतावास, जाइका नेपाल, नेपाल सरकार तथा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गरे। जान का सदस्यहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, जापानी दूतावासका प्रतिनिधिहरू, जाइका नेपालका प्रतिनिधिहरू तथा विभिन्न संघ संस्थाका विशिष्ट सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन जान का सचिव यमलाल भुसालले गरेका थिए।

यो कार्यक्रम जानको ५२औँ वार्षिकोत्सव तथा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको हो। जानको स्थापना सन् १९७२ (वि.सं. २०२९) मा जापान अन्तर्राष्ट्रिय सहयोग निकाय ( जाइका) को सहयोगमा जापानमा अध्ययन, तालिम वा भ्रमण गरेका विभिन्न विधामा ज्ञान तथा सीप हासिल गरेका व्यक्तिहरूलाई एकताबद्ध गर्ने तथा नेपाल–जापानबीचको मैत्री र सहकार्यलाई अझ सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

प्रकाशित: ११ माघ २०८२ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App