आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमलाई विकास र समृद्धिको मोडेल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्माले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई विकास, सुशासन र सामाजिक न्यायका लागि भएको बताए।
संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘रुकुमलाई विकासको दृष्टिकोणले देशकै नमुना बनाउन, गरिबी र बेरोजगारमुक्त समाज निर्माण गर्न तथा सुशासनयुक्त र सामाजिक न्यायसहितको समाज बनाउन मेरो उम्मेदवारी हो।’
नेता शर्माले रुकुमको भविष्य र समृद्धिलाई सुनिश्चित गर्न आम मतदातालाई आह्वान समेत गरे। उनले रुकुमको विकास र सामाजिक न्यायको मुद्दालाई जिताउन आग्रह गरेका छन्।
आफ्नो जितप्रति विश्वस्त देखिएका शर्माले आफूलाई साझा उम्मेदवारको रूपमा प्रस्तुत गरे।
मतदाताहरूमा जनार्दनलाई भोट दिन्छौं भन्ने भावना रहेको उल्लेख गर्दै उनले भने, ‘विगतमा सबै पार्टीहरूलाई समायोजन गर्दै नेतृत्व गरेको र यहाँ गरिएका काम तथा परिणामको आधारमा म साझा उम्मेदवार हुँ।’
उनले क्रमशः अन्य पक्षहरूको पनि सहयोग र समर्थन जुट्दै जाने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ १४:२८ शुक्रबार





