काठमाडौं महानगरपालिकाको नगरसभामा सदस्य प्रेम थापाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादलाई ‘युद्ध’ को संज्ञा दिएर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा बसेको नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले हालै समाधान भएको पालिकाभित्रको विवादलाई हार-जितको रूपमा नहेर्न आग्रह गरे।

पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ‘हारेको’ वा ‘झुकेको’ भनेर आएका समाचारहरूप्रति लक्षित गर्दै उनले भने, ‘उपप्रमुखले हार्नुभयो, प्रमुख प्रशासकीय अधिकृत निहुरिनुभयो, कार्यपालिका सदस्यहरू झुक्नुभयो भनेर अफवाह फैलाइयो। यो कुनै युद्धभूमि वा रणभूमि होइन। यहाँ कसैको जित वा हार भएको छैन, बरु सिंगो काठमाडौं महानगरपालिकाको जित भएको छ।’
उनले विवाद समाधानका लागि मेयर बालेन्द्र शाहको कुशल नेतृत्वको प्रशंसा गर्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
सोही क्रममा सदस्य थापाले महानगरका कर्मचारीहरू उच्च मनोबलका साथ काम गर्न नसकेको अवस्थामा रहेको पनि बताए।
‘कर्मचारीहरू दबाबमा छन्। उनीहरूको योग्यता र क्षमताअनुसार काम गर्ने वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘बारम्बार हुने सरुवाले उनीहरूमा अन्योल सिर्जना गरेको छ।’
उनले सडकमा अस्तव्यस्त रहेका तारहरूले सहरलाई कुरूप बनाउनुका साथै आगलागीजस्ता विपद्को जोखिम बढाएको भन्दै मेयर शाहको ध्यानाकर्षण गराए।
बजेटमा छुट्याइएको रकमलाई तार व्यवस्थापनमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले आग्रह गरे।
यसैगरि, सभाले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरेको छ।
महानगरको आगामी आवको बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रहेको छ।
प्रकाशित: ३२ असार २०८२ १८:३५ बुधबार





