४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

युरोप बस्ने नेपालीको दोस्रो पुस्तालाई नेपालको राजनीति हेरेर पुग्दैन : डा.महत

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै डा.महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध साथीहरू सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।  

युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठूलो संख्यामा नेपालीहरू रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए। युरोपमा नेपालीहरु दोस्रो पुस्तामा प्रवेश गरेको चर्चा गर्दै महतले ती देशमा समितिहरूलाई थप सक्रिय बनाउनु पर्ने आवश्यकता औल्याए । उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जोड दिए।

युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने उनको भनाइ थियो । डा.महतले पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको दाबी गरे ।  

विदेशमा बस्ने नेपालीहरूको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्ने सक्ने कुरामा उनको जोड थियो।  

डा.महतले विदेशमा बस्ने नेपालीहरूको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको बताए । व्यक्तिगत रुपमा दोहोरो नागरिकताको पक्षमा रहेको र यसबाट नेपाललाई घाटा नहुने विश्वास व्यक्त गर्दै महतले यसले नेपालीहरूलाई नेपालसँग जोडिरहने थप आधार दिने तर्क गरे । यद्यपि, यसका लागि देश भित्रका विभिन्न सरोकारवालालाई बुझाउन समय लाग्ने तर ढिलो चाँडो यो कार्यान्वयन हुनेमा उनको विश्वास थियो।

प्रकाशित: २६ श्रावण २०८२ १६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App