५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

पितृसत्तात्मक सोच हाबी हुँदा महिलालाई राजनीतिमा सजिलो छैन: मन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाको आफ्नै संघर्षले महिला अधिकार र सशक्तीकरणको क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छिन्। 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघद्वारा बुधबार आयोजित ‘विगत, वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका’ विषयक गोष्ठीमा उनले महिला अधिकारको क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताएकी हुन्। ‘महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन्। त्यो सबै नेपाली महिलाले गरेको संघर्षको उपलब्धि हो,’ उनले भनिन्।  

मन्त्री डा. राणाले नेपाली कांग्रेसका महिला नेतृ मंगलादेवी सिंहदेखि शैलजा आचार्यसम्मको योगदानको स्मरण गर्दै उनीहरू र अन्य महिला नेतृको लामो संघर्ष र बलिदानपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गरेको स्पष्ट पारिन्। 

उनले वर्तमान अवस्था पर्याप्त नभएको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको बताइन्। मन्त्री डा. राणाले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रहेको स्मरण गरिन्।   

‘अग्रजको प्रेरणाबाट हामी महिला अधिकारको संघर्षमा लाग्यौं र वर्तमान संविधान र नेपालको विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौं,’ उनले भनिन्। वर्तमान संविधानले नेपालको संघीय तथा प्रदेश संसद्मा कम्तिमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो। 

नेपाली कांग्रेसकी नेतृ डा. राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै संघर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन्।   

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरूले निकै संघर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गराइन्। उनले महिलालाई राजनीतिमा सजिलो नभएको पनि गुनासो गरेकी छन्। उनले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ। महिलालाई राजनीतिमा सजिलो छैन। त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीलाई जागरुक गर्यौं, सशक्त बनायौं र अधिकारका लागि अघि बढ्न तयार पार्यौं।’  

उनले नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृले सुनाउने गरेको बताइन्। रासस

प्रकाशित: ४ भाद्र २०८२ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App