राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्। बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्द्धन) कार्यक्रममा उनले यस्तो बताएका हुन्। ३१औं विश्व आदिवासी दिवस कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्।
‘कृत्रिम बौद्धिकता (एआई) र प्रविधि प्रयोग गरेर आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई जोगाउन र विश्वभर चिनाउन सकिन्छ,’ उनले भने, ‘उदाहरणका लागि नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा छ, यो नै प्रविधिको सही प्रयोग हो।’
उनले यो वर्षको विश्व आदिवासी दिवस आदिवासी समुदायको भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर मनाइने बताए। संयुक्त राष्ट्रसंघले सन् १९९४ अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालले त्यतिबेलादेखि नै यो दिवस मनाउँदै आएको हो।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औं विश्व आदिवासी दिवस यसपटक एक साता लामो कार्यक्रममार्फत भव्य रूपमा मनाउने तयारी रहेको बताए। यसलाई सरकार र सम्बन्धित निकायसमक्ष आफूहरूको आवाज पुर्याउने एउटा मौका भएको उनको भनाइ थियो।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार आदिवासी समुदाय धेरै समयदेखि अधिकारका लागि संघर्ष गरिरहेको छ। उनले भने, ‘विश्वका ८० प्रतिशत खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित छन्।’
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका ठुलो रहने बताइन्। विकासका नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित भइरहेका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनिसकेको र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यही हैसियत दिलाउने प्रयास भइरहेको बताए। कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
प्रकाशित: २३ श्रावण २०८२ १०:५३ शुक्रबार




