१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

अनुकूलन खेती अपनाउन आवश्यकः मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृति र मौसमअनुकूल हुनेगरी खेती गरिनुपर्ने बताएका छन् ।  

उनले आज लालगढमा आयोजित दोस्रो आँप गोष्ठीलाई सम्बोधन गर्दै यसपालीको लामो खडेरीबाट चेत्दै अब परम्परागत ढाँचाभन्दा जेजस्तो अवस्था बन्ने र त्यसको अनुकूलन हुनेगरी खेती गरिनुपर्ने बताए।

“हाम्रो मधेशको मुख्यबाली धान हो, तर यसपाली लामो खडेरीले अपेक्षित खेती गरिने अवस्था रहेन”, सिंहले भने, “त्यसैले अब खडेरीअनुकूल हुने गरी खेती गर्न जान्नु पर्दछ ।” देशभरिमा आँपको उत्पादनमा मधेशको ७० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको चर्चा गर्दै उनले पूूर्वपश्चिम लोकमार्ग उत्तरका बाँझा पाखामा आँप र अन्य फलफूल लगाउन सकिने बताए।

यसतर्फ किसान र  स्थानीय तहको प्रयत्नमा प्रदेश सरकारको साथ रहने उनको प्रतिबद्धता थियो । पानी नपर्दा धान लगाउन नपाइने सत्य हामी सबैलाई थाहा हुँदाहुँदै यसको विकल्प सोच्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । चुरे काछका बाँझा चउर, नदी किनारका उकास जग्गा रुखबिरुवाले हराभरा बनाउन सके वातावरण सन्तुलनमा पनि योगदान हुने सिंहले बताए।

मधेसलाई आँपको ‘हब’ बनाउन विशेष पहलकदमी बढाउनु पर्ने उनको भनाइ छ । “अहिले नेपालमा उत्पादन हुने आँपमा मधेसको ७० प्रतिशत योगदान छ, अब आँप विदेशमा निर्यात गर्नेगरी उन्नत प्रविधिबाट खेती बढाउनु पर्छ”, सिंहले भने।

कार्यक्रममा मधेसको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा उमेश दाहालले आँपको वैज्ञानिक प्रविधिबाट खेती गरिए यसबाट आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान हुने बताए। यसैगरी फलफूल विज्ञ डा शान्ता कार्कीले विगतमा आँपको उत्पादनको अवस्था र यो खेतीमा अपनाउनुपर्ने नविनतम प्रविधिका बारे चर्चा गरिन् ।

यसैगरी राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुरका प्रमुख महेशचन्द्र आचार्यले आँपखेतीको राष्ट्रिय अवस्थाबारे प्रकाश पारे। मुलुकभरि ५२ हजार ९७५ हेक्टरमा आँपखेती रहेमध्ये मधेशमा ३४ हजार ७९८ हेक्टरमा रहेको तथ्याङ्क प्रस्तुत गरे। मधेसमा यसपाली तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको र यो मुुलुकको कूल उत्पादनको ७० प्रतिशत रहेको आचार्यले उल्लेख गरे।

प्रकाशित: २३ श्रावण २०८२ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App