२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्व अर्थमन्त्रीसँग युवा अर्थविद्को रोचक प्रतिस्पर्धा

रोल्पाको निर्वाचन यतिबेला निकै गतिशील बनेको छ। कानुनका विद्यार्थीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता तथा ५४ वर्षीय पूर्व अर्थमन्त्री वर्षमान पुनसँग नेपाली कांग्रेसबाट अर्थविद् डा. सुदनकुमार वली प्रतिस्पर्धामा छन्। कांग्रेस गुमेको विरासत फर्काउने तयारीमा जुट्दा नेपाली कम्युनिस्ट पार्टी भने आफ्नो विरासत जोगाउने दाउमा देखिएको छ। यसैबीच नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा (माओवादी) ले आफूलाई स्थापित गर्न भरपुर प्रयास गर्ने देखिन्छ। नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि जोडतोडका साथ चुनावी मैदानमा उत्रिएको छ।

२०५५ सालमा पार्टीको केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य बनेका वर्षमान पुन नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत हुन्। २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित उनी अर्थमन्त्री बनेका थिए। त्यसपछि २०६७ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री, २०७४ सालमा जलस्रोत तथा सिँचाइ मन्त्री तथा २०७९ सालमा पुनः अर्थमन्त्री भएका थिए। तत्कालीन नेकपा (माओवादी) का लडाकु डेपुटी कमाण्डरसमेत रहेका पुन पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र मानिन्छन्। यस पटक उनी रोल्पाबाट संसदीय प्रतिनिधि बन्ने प्रयासमा छन्।

दुई पटक अर्थमन्त्री भइसकेका पुनसँग यसपटक कांग्रेसबाट युवा अर्थविद् डा. सुदनकुमार वली प्रतिस्पर्धामा छन्। ३४ वर्षीय वलीले चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। २०६० सालदेखि नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिक यात्रा सुरु गरेका वली नेपाली कांग्रेसको १२औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सक्रिय सदस्य बनेका थिए। उनी कांग्रेसको आर्थिक नीति तथा योजना विभागका सदस्य र नीति, तालिम तथा अनुसन्धान संस्थानका विशेषज्ञ सदस्यका रूपमा पनि काम गरिसकेका छन्।

डा. वली युवा तथा खेलकुद मन्त्रालयका लागि नीतिविज्ञ, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थानका सल्लाहकार र प्रशिक्षकसमेत रहिसकेका छन्। अर्थशास्त्र, नीतिनिर्माण, योजना तथा अनुसन्धानमा गहिरो दख्खल राख्ने उनी शिक्षित, नीतिगत र विकासमुखी राजनीतिको प्रतिनिधि नेताका रूपमा परिचित छन्।

नेकपा एमालेबाट ५१ वर्षीय गोकुलप्रसाद घर्ती पनि निर्वाचनका प्रमुख पात्रमध्ये एक हुन्। उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०६३ सालमा अनेरास्ववियुका महासचिव, नेकपा (एमाले) पोलिटब्युरो सदस्य, २०७० सालमा संविधानसभा सदस्य तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षसमेत बनेका थिए। अनेरास्ववियुको १८औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित घर्ती १९औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए। उनी हाल नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्।

विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट ५३ वर्षीय चुडामणि वली प्रतिस्पर्धामा छन्। २०४२ सालदेखि राजनीतिक यात्रामा रहेका उनले नेकपा (माओवादी) का विभिन्न जिम्मेवारी सम्हालेका छन्। तत्कालीन नेकपा (माओवादी) का जिल्ला सेक्रेटरी, जनमुक्ति सेनामा बटालियन र ब्रिगेड कमाण्डर, केन्द्रीय सदस्य, सह–इन्चार्ज, केन्द्रीय न्याय विभाग प्रमुख तथा पोलिटब्युरो सदस्यका रूपमा उनले अनुभव बटुलेका छन्। माओवादी द्वन्द्वकालमा पटक–पटक पक्राउ परी लामो समय हिरासत र कारागार जीवन बिताएका उनी अनुभवी नेता मानिन्छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला उपाध्यक्ष बालराम थापालाई उम्मेदवार बनाएको छ। राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका थापाले निर्माण व्यवसाय, इन्जिनियरिङ तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७५ वर्षीय अम्मरबहादुर थापा क्षेत्री चुनावी मैदानमा छन्। २०३६ सालदेखि राप्रपाको सक्रिय राजनीतिमा रहेका उनी हाल पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा राप्रपा रोल्पाका जिल्ला अध्यक्ष हुन्।

राष्ट्रिय जनमोर्चाबाट ५७ वर्षीय मेखबहादुर बिष्ट उम्मेदवार बनेका छन्। अखिल नेपाल भारत एकता समाजबाट राजनीतिक यात्रा सुरु गरेका बिष्ट राष्ट्रिय जनमोर्चा रोल्पाका जिल्ला अध्यक्षसमेत हुन्। मंगोल नेशनल अर्गनाइजेसनबाट ५३ वर्षीय कुमार घर्तीमगर उम्मेदवार छन्। उनी १० वर्षदेखि मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भई दाङ जिल्ला सभाका सदस्यसमेत रहेका छन्। नेशनल रिपब्लिक नेपालबाट २९ वर्षीय मनबहादुर घर्तीमगर उम्मेदवार बनेका छन्। ६ वर्षदेखि राजनीतिमा सक्रिय उनी नेशनल रिपब्लिक नेपालका केन्द्रीय सदस्य हुन्। आम जनता पार्टीबाट ५० वर्षीय दिलबहादुर कामी निर्वाचनमा छन्। लघुवित्तीयविरुद्ध संघर्ष समितिका रोल्पा जिल्ला अध्यक्ष हुँदै उनी आम जनता पार्टीका जिल्ला प्रतिनिधि बनेका हुन्।

२०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट छुट्टिएर बनेको जिल्ला हो रोल्पा। २०१५ सालमा गजुलका खडानन्द सुबेदीले कांग्रेसबाट क्षेत्र नं. ७३ बाट निर्वाचन जित्दै प्रतिनिधित्व गरेका थिए। जीवनमा करिब दर्जन पटक चुनाव लडेका बालाराम घर्तीमगर बहुदलपछि २०५१ सालमा राप्रपाबाट ९ हजार ५२३ मत ल्याएर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट क्षेत्र नं. १ मा बर्मन बुढा ९ हजार ६५६ मत र क्षेत्र नं. २ बाट सोही पार्टीका कृष्णबहादुर महराले १२ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित भएका थिए। २०५१ सालमा क्षेत्र नं. १ बाट बालाराम घर्तीमगर ९ हजार ५२३ मतसहित विजयी हुँदा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका सुरेन्द्र हमाल १७ हजार ३९५ मत ल्याएर संसद पुगेका थिए। २०५६ सालमा दुवै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएको थियो। क्षेत्र नं. १ बाट लेखनाथ आचार्य ६ हजार ६९५ मत र क्षेत्र नं. २ बाट पुनः सुरेन्द्र हमाल ८ हजार ३४४ मत ल्याएर निर्वाचित भएका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट नेकपा (माओवादी) की जयपुरी घर्तीले २६ हजार ५ सय ५ मत र क्षेत्र नं. २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३४ हजार २ सय २० मत ल्याएका थिए। प्रचण्डले रोल्पा छोडेर काठमाडौँ रोजेपछि २०६५ सालको उपनिर्वाचनमा माओवादीले क्षेत्र नं. २ मा १४ हजार २ सय ८७ मत घटाएर १९ हजार ९ सय ३३ मतमै चित्त बुझाउनुपरेको थियो।

त्यसपछिका प्रत्येक निर्वाचनमा तत्कालीन माओवादीको मत क्रमशः घट्दै आएको छ। १० वर्ष लामो सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामार्फत राज्यको मूलधारमा आएको माओवादीले छोटो समयमै न केवल आकार घटायो, धेरै कार्यकर्ता माओवाद नै छोडेर अन्यत्र गएका छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पामा ६० हजार ७ सय २५ मत पाएको तत्कालीन माओवादीले पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ हजार ५ सय ९५ मतमा सीमित हुनुपरेको तथ्यले उसको विरासत कमजोर बन्दै गएको स्पष्ट देखिन्छ।

प्रकाशित: १८ माघ २०८२ २१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App