२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

संसद्‌मा १४ महिला उम्मेदवारको सानदार ‘इन्ट्री’

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्ष प्रणालीतर्फको नतिजाअनुसार यसपटक कुल १४ जना महिला उम्मेदवारहरूले सानदार जित हासिल गरेका छन्।

नेपाली राजनीतिको परम्परागत शक्ति सन्तुलनलाई भत्काउँदै निर्वाचित भएका १४ मध्ये १३ जना महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विजयी भएका हुन् भने एक जना मात्र नेपाली कांग्रेसबाट निर्वाचित छन्।

यसपटकको निर्वाचनमा महिला उम्मेदवारहरूले परम्परागत दलका प्रभावशाली र शीर्ष नेताहरूलाई भारी मतान्तरले पराजित गरे।

प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये महिला उम्मेदवारको संख्या ३ सय ९५ अर्थात् ११ प्रतिशत मात्र थियो। यद्यपि, विजयी हुने कुल १६५ सांसदमध्ये महिलाको उपस्थिति ८.४८ प्रतिशत कायम भएको छ।

निर्वाचनमा प्रमुख दलका रूपमा रहेको नेपाली कांग्रेसले ११ जना र उदाउँदो शक्ति रास्वपाले १६ जना महिलालाई प्रत्यक्षतर्फको चुनावी मैदानमा उतारेका थिए।

प्रत्यक्षतर्फ निर्वाचित हुने १४ जना महिलामध्ये सबैभन्दा बढी मत प्राप्त गरेर झापा निर्वाचन क्षेत्र नम्बर-२ की रास्वपा उम्मेदवार इन्दिरा रानामगरले नयाँ रेकर्ड कायम गरेकी छन्। ५५ वर्षीया रानामगरले ६० हजार १ सय १० मतको विशाल आँकडासहित जित दर्ता गराएकी हुन्। 

यस निर्वाचनमा रास्वपाका महिला उम्मेदवारहरूले ‘जायन्ट किलर’ को छवि बनाए। मोरङ क्षेत्र नम्बर-६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई रास्वपाकी ३६ वर्षीया रुविना आचार्यले भारी मतान्तरले पराजित गरिन्।

कोइरालाजस्ता शीर्ष तहका नेतालाई हराउँदै रुविनाले ५५ हजार ५ सय १३ मत प्राप्त गरिन्। यता, कांग्रेसका कोइरालाको पोल्टामा जम्मा १२ हजार ८ सय ५० मत मात्र परेको छ।

त्यसैगरी, चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट ३३ वर्षीया सोविता गौतमले शानदार जित निकालेकी छन्। यसअघि नेपाल टेलिभिजनमा लामो समय स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरेकी र पेसाले अधिवक्तासमेत रहेकी गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरिन्।

उनले नेकपाकी बलिया उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन्। बलियो राजनीतिक पृष्ठभूमि भएकी दाहालले मात्र २० हजार ६ सय १५ मत प्राप्त गरिन्।

ललितपुर क्षेत्र नम्बर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की दोस्रो पटक निर्वाचित भएकी छन्। ३३ वर्षीया कार्कीले यसपटक ४३ हजार ९६ मत प्राप्त गर्दै आफ्नो जनआधार थप फराकिलो बनाइन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत मात्र ल्याए। पेसाले चिकित्सक रहेकी डा. कार्कीले २०७२ सालको महाभूकम्प र कोभिड–१९ को महामारीजस्तो देशको संक्रमणकालमा स्वास्थ्य सेवाको अग्रपंक्तिमा रहेर नागरिकलाई सेवा दिएकी थिइन्। त्यही समर्पणको मूल्यांकन जनताले यसपटकको मतपेटिकामा पनि गरेको देखिन्छ।

यसपटकको अर्को सबैभन्दा रोचक जित काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा देखिएको छ। ९ महिनाको गर्भसहित चुनावी मैदानमा उत्रिएकी ३१ वर्षीया रन्जु दर्शना (न्यौपाने) ले रास्वपाको तर्फबाट सानदार जित हासिल गरिन्।

उनले १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रवल थापालाई पराजित गरेकी हुन्। थापाले ६ हजार ३ सय ६४ मत मात्र पाएका छन्।

१९ वर्षको कलिलो उमेरदेखि नै राजनीतिमा होमिएकी दर्शना २०७० सालतिर विवेकशील नेपाली दलमा आबद्ध थिइन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिँदा उनी जम्मा २१ वर्षकी थिइन्।

त्यतिबेला पराजित भए पनि निरन्तर राजनीतिमा सक्रिय उनी यस निर्वाचनअघि मात्रै रास्वपामा आबद्ध भएर संसद्को यात्रा तय गर्न सफल भएकी हुन्।

ठूला सहरमा मात्र नभई देशभरका विभिन्न निर्वाचन क्षेत्रमा रास्वपाका महिला उम्मेदवारहरूले उल्लेख्य मतसहित विजयको झन्डा फहराएका छन्। झापा क्षेत्र नम्बर-१ को चुनावी मैदानमा रास्वपाकी ३४ वर्षीया निशा डाँगीले ४५ हजार ६ सय ८० मत प्राप्त गरी विजयी भइन्।

राजनीतिमा आउनुपूर्व सञ्चारकर्मीको रूपमा कार्यरत डाँगीले नेपाली कांग्रेसका केशवराज पाण्डेलाई भारी मतले पछाडि पारेकी हुन्। पाण्डेले १० हजार ५ सय ५० मत प्राप्त गरेका छन्।

धादिङ क्षेत्र नम्बर-१ मा समाजका विकृति र विसंगतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी ३२ वर्षीया आशिका तामाङले जित निकालेकी छन्। रास्वपाबाट उम्मेदवार बनेकी उनले ३९ हजार १ सय २८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मतमा सिमित भए।

त्यस्तै, कास्की क्षेत्र नम्बर-३ बाट ४० वर्षीया बिना गुरुङले ३७ हजार ७ सय ५० मत ल्याएर रास्वपाको सिट सुरक्षित गरेकी छन्। उनले कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई पराजित गरेकी हुन्। उनले १२ हजार ७ सय ८० मत प्राप्त गरे।

मधेश प्रदेश र तराईका जिल्लाहरूमा पनि रास्वपाका महिला उम्मेदवारहरूले पुरानो राजनीतिक समीकरणलाई तोडेका छन्। सप्तरी क्षेत्र नम्बर-१ बाट ३८ वर्षीया पुष्पाकुमारी चौधरीले ३८ हजार १ सय ९५ मत प्राप्त गरी सानदार जित हात पारिन्। उनका प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित कुमारले जम्मा ७ हजार ८ सय ४७ मतमा चित्त बझाए।

महोत्तरी क्षेत्र नम्बर-४ बाट ४२ वर्षीया गौरी कुमारी विजयी भएकी छन्। उनले जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै कुल ३० हजार १ सय ३२ मत प्राप्त गरिन्। यादवले ८ हजार ७ सय ४२ मत मात्र ल्याए।

यसैगरी, सर्लाही क्षेत्र नम्बर-१ बाट ३५ वर्षीया नीतिमा भण्डारी (कार्की) ले ३० हजार ४ सय ३४ मत प्राप्त गरी विजय हासिल गरेकी छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत मात्र प्राप्त गरेका छन्। मोरङ क्षेत्र नम्बर-५ बाट ३७ वर्षीया आशा झाले ३० हजार ४ सय ३४ मतसहित जित निकालिन्। उनका प्रतिस्पर्धी कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४ सय १५ मत मात्र प्राप्त गरे।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली क्षेत्र नम्बर-१ बाट रास्वपाकी ४१ वर्षीया कोमल ज्ञवाली १७ हजार ८ सय ६२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ७० मत प्राप्त गरे।

रास्वपाको विशाल लहरका बीच नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ एक जना मात्र महिला उम्मेदवारले संसद्को यात्रा तय गरेकी छन्।

दैलेख निर्वाचन क्षेत्र नम्बर-१ बाट ४४ वर्षीया बासना थापा विजयी भएकी हुन्। थापाले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दै कडा प्रतिस्पर्धाका बीच एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरिन्। शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे।

नेपालको संसदीय निर्वाचनको इतिहासलाई फर्केर हेर्दा प्रत्यक्षतर्फ महिला उम्मेदवारको जित सधैं चुनौतीपूर्ण रहँदै आएको छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ देशभरबाट जम्मा ६ जना महिला मात्र विजयी भएका थिए। त्यसको पाँच वर्षपछि २०७९ को निर्वाचनमा यो संख्या सामान्य बढेर ९ जना पुगेको थियो।

तर, २०८२ को यस निर्वाचनमा १४ जना महिलाले प्रत्यक्षतर्फबाटै संसद्मा प्रवेश पाउनु आफैंमा एउटा ऐतिहासिक फड्को हो। यसपटक निर्वाचित अधिकांश महिलाहरूले पुरुष प्रतिस्पर्धी तथा स्थापित दलका ‘हेभीवेट’ नेताहरूलाई झिनो मतान्तरले होइन, फराकिलो र भारी मतान्तरले पराजित गरेका छन्।

जनताले परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूलाई भन्दा नयाँ अनुहार, युवा जोस, र खासगरी महिला नेतृत्वलाई अत्यधिक रुचाएको यस नतिजाबाट प्रस्ट हुन्छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App