२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रविकै अगाडि जब आशिकाले भनिन् : धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!

धादिङ निर्वाचन क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा उम्मेदवार आशिका तामाङले घरदैलो अभियानका क्रममा भाषण गरेको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।   

बिहीबार आफ्नो निर्वाचन क्षेत्रकै गल्छीचोकमा पार्टीका सभापति रवि लामिछानेसमेतको उपस्थितिमा आयोजित चुनावी सभामा आशिका आफ्नो मन्तव्य दिइरहेकी हुन्छिन्। त्यति नै बेला उनी ‘धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ!’ भन्छिन्। उनी सँगै रहेका रविले हताहतार सच्याउँदै भन्छन्, ‘भनेर अन्य नेताले भन्छन् तर आशिकाले भन्दिनन्।’

मन्तव्य दिँदा आफूबाट भएको शब्द त्रुटिप्रति उनले माफी मागेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै विगत एक महिनाभन्दा बढी समयदेखि धादिङ जिल्लाको विभिन्न वडामा बिहान ७ देखि साँझ ७ बजेसम्म निरन्तर घरदैलो अभियान चलाइरहेको जानकारी दिइन्। धादिङको भूगोल काठमाडौं जिल्लाभन्दा ठूलो जस्तो महसुस हुने गरी कठिन क्षेत्रमा दैनिक घर–घर पुगेर जनताको गुनासो सुन्दै आएको उनले बताइन्।

उनले एक क्षणको गल्ती भएको स्वीकार गर्दै अबदेखि बोल्दा अझै सावधानी अपनाउने र यस्तो त्रुटि भविष्यमा नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

उनले लेखेकी छिन्, 'आज घरदैलो गर्न थालेको एक महिना भन्दा बढी भएछ, काठमाडौं जिल्ला भन्दा ठुलो त धादिङ जिल्ला को एउटा वडा रहेछ, त्यती ठुलो भूगोल भए को क्षेत्र मा हरेक  दिन बिहान ७ बजेदेखि बेलुकि ७ बजे १२ घन्टा सम्म ननस्टप दौडि नै रहेकी थिए ! जनता को घर घर  पुगि दैनिक गुनासो  टिप्पणी गर्ने क्रममा आज पाटी का सभापती आउनु हुने कुरा जानकारी पाई म ७ बजे बाट ३ बजे सम्म बुवाको गाउँ दरिङ्गाल भन्ने लेख पुगि घरदैलो गरि फर्किदा धेरै थकान थियो तर मलाई थाक्ने छुट छैन ! रबि दाइ को स्वागत लाई म कालीरह भन्ने ठाउँ मा पुगि सम्पूर्ण कार्यकर्तासहित हामी गल्छी चोक मा रबि दाइ टिम सहित आइपुग्यौ ! त्यहाँ सम्पूर्ण धादिङबासी रबि दाइ को स्वागतलाई तैनाथ हुनुहुन्थ्यो, भिड ठुलो थियो साँझ परेर झपक्क रात परिसकेको थियो! दाईसँग धेरै समय थिएन, त्यसैले मैले छिटो छिटो आफ्नो सानो मन्तव्य लेखेर लगेको थिएँ, बोल्दा खेरी "धादिङमा सुशासन स्थापना गरी , भ्रष्टाचार अन्त्य गर्न आएकि हु " भन्ने वाक्य भन्नू पर्ने थियो तर अन्त्य शब्द चाहिँ मेरो आँखाले ठम्याउन सकेन र भ्रष्टाचार गर्दछु भन्ने शब्द सुनिन गएको हुँदा सम्पूर्णमा माफी माग्दछु! एक पल्ट को लागि  गल्ती भो अब देखि बोल्दा धेरै ध्यान गरेर मात्र बोल्ने छु र येस्तो गल्ती भविष्यमा नगर्ने वाचा गर्दछु। धन्यवाद!'

प्रकाशित: १५ फाल्गुन २०८२ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App