नेकपा (एमाले) का सचिव महेश बस्नेतले भदौ २३ गते भएको जेन-जी आन्दोलन व्यवस्था नभई अवस्था परिवर्तनको आवरणमा गरिएको साम्राज्यवादी चलखेल भएको दाबी गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर-२ का मतदातासँगको अन्तरक्रियाका क्रममा सचिव बस्नेतले उक्त आन्दोलन पछिल्लो ३० वर्षदेखि सक्रिय ‘डिपस्टेट’ को अवधारणासहित साम्राज्यवादी शक्तिहरूको योजनासँग जोडिएको जिकिर गरेका हुन्।
उनले आन्दोलनमा सहभागी वास्तविक जेन-जी युवाहरू भने साम्राज्यवादीहरूको भित्री योजना र ‘डिपस्टेट’ को अवधारणाबारे अनभिज्ञ रहेको बताए।
‘आन्दोलनमा सहभागी वास्तविक जेन-जी युवाहरूले ३० वर्षदेखि डिपस्टेटको अवधारणामा साम्राज्यवादीहरू लागेको कुरा बुझेका थिएनन्,’ बस्नेतले भने।
विश्वव्यापी रूपमा फैलिएको आन्दोलनको शृंखलामा नेपाल ११ औं देशका रूपमा प्रयोग भएको उनको दाबी छ। विश्वका विभिन्न देशमा भएका आन्दोलनहरूमा प्रयोग गरिएका मानव कङ्काल, क्रस–बोनजस्ता प्रतीकहरू नेपालमा पनि प्रयोग गरिएको उनले औंल्याए।
नेता बस्नेतले ‘डिस्कोर्ड’ नामक च्यानल (एप) प्रयोग गरी नेपालमा सिंहदरबार, अदालत, स्थानीय तहका कार्यालय तथा निजी घरसम्म जलाउने आपराधिक योजना बनाइएको दाबी समेत गरे।
सोही प्लेटफर्मको प्रयोग गरेर दुई वर्षअघि अमेरिकामा प्रतिपक्षी दलका एक नेतालाई गोली हानी हत्या गरिएको दृष्टान्त उनले सुनाए।
यस्तै, उनले आन्दोलनमा ७७ जनाको ज्यान जाँदा तत्कालीन सरकारलाई दोष लगाएर भ्रम सिर्जना गरिएको बताए।
आन्दोलनकारीले विद्यार्थीलाई ढाल बनाएको उल्लेख गर्दै बस्नेतले भने, ‘गहिरो अध्ययन गर्ने हो भने स्कुल ड्रेस लगाएर जाँदा प्रहरीले गोली हान्दैन भन्ने कुरा सिकाएर आन्दोलन सुरु गरिएको देखिन्छ।’
प्रकाशित: १७ माघ २०८२ १४:५८ शनिबार





