१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

हामीले काम गर्न सकेनौं भने डाँडा कटाइदिनुस्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाँच वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसके आगामी निर्वाचनमा डाँडा कटाइदिन आग्रह गरेका छन्।

आइतबार नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले काम गर्न नसके आफ्नै कार्यकर्तालाई पार्टीको सदस्यता च्यात्न समेत खुला आह्वान गरे।

कांग्रेसको ऐतिहासिक मञ्चबाट सम्बोधन गर्दै सभापति लामिछानेले बीपी कोइरालाका आदर्शलाई मान्ने नेता-कार्यकर्ताले एकपटक कांग्रेसलाई प्रतिपक्षमा राखेर नयाँ शक्तिलाई काम गर्ने मौका दिनुपर्ने बताए।

‘तपाईं बीपीलाई माया गर्नुहुन्छ र उहाँको सच्चा अनुयायी हो भने एकपटक आफ्नो दललाई प्रतिपक्षमा राख्नुस्, दल छाड्न पर्दैन,’ लामिछानेले भने, ‘हामीले काम गर्न सकेनौं भने अर्को चुनावमा हामीलाई डाँडा कटाइदिनुस्। मैले चुनावका बेला पनि यही भनेको थिएँ र आज यस मञ्चमा उभिएर पनि म यही कुरामा अडिग छु।’

आफ्नो पार्टीभित्र उच्च राजनीतिक जवाफदेहिता रहेको दाबी गर्दै उनले आफ्नै दलका कार्यकर्तालाई सचेत गराए। ‘यो पाँच वर्ष रास्वपाले काम गर्न सकेन भने सबैभन्दा पहिला रास्वपाकै सदस्यता च्यात्नुहोला, यति भन्न सक्ने आँट हामीले राखेका छौं,’ उनले भने।

सम्बोधनका क्रममा उनले विगतको निर्वाचनमा कांग्रेसका धेरै मतदाताले समेत परिवर्तनको आशामा रास्वपालाई मत दिएको दाबी गरे। जनताले दिएको सोही मतको सम्मान गर्दै आफूहरू काम गर्न अग्रसर भएको उनको भनाइ थियो।

सरकार परिवर्तनका लागि सडक आन्दोलनको बाटो रोज्न नहुने बताउँदै उनले आवधिक निर्वाचनमार्फत मात्र जनमतको परीक्षण हुनुपर्ने धारणा राखे।

लोकतन्त्रको रक्षा जनताले नै गर्ने उल्लेख गर्दै उनले वर्तमान सरकार ढल्ने हल्ला फैलाउनुको कुनै औचित्य नरहेको समेत बताए।

प्रकाशित: १८ आश्विन २०८३ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App