३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकारको ताल यस्तै रहे मुलुकमा मध्यावधि चुनाव हुन्छ: शशांक

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन्। उनले सरकारको काम गर्ने शैलीमा सुधार नआए मुलुक मध्यावधि निर्वाचनतर्फ जान सक्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले बहुमतको समर्थन प्राप्त सरकार भए पनि अहिलेसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए।

उनले वर्तमान सरकारलाई प्रभावकारी काम गर्न नसकेको भन्दै एक प्रकारको ‘कामचलाउ सरकार’को संज्ञा दिए। बहुमत भए पनि सरकारले जनताले अनुभूति गर्ने गरी ठोस काम गर्न नसकेको उनको भनाइ थियो।

“यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन। नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ,” कोइरालाले भने।

उनले वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा समेत आशंका व्यक्त गरे। राजनीतिक परिस्थितिमा परिवर्तन आउन सक्ने भन्दै उनले सरकारको कार्यशैली यस्तै रहे मुलुक मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताए।

“यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ। राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन,” उनले भने।

कोइरालाको यो अभिव्यक्तिले वर्तमान सरकारको कार्यसम्पादनप्रति कांग्रेसभित्रको असन्तुष्टि र आगामी राजनीतिक परिस्थितिबारे बढ्दो आशंकालाई समेत संकेत गरेको छ।

प्रकाशित: ३० श्रावण २०८३ २१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App