३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

मतदाताका समस्या सुन्दै गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उहाँले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गरे ।

शुक्रबार गोरखा पुगेका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसहित जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । ‘गृहमन्त्रीको कुनै औपचारिक कार्यक्रम छैन, निर्वाचन क्षेत्र भ्रमणका सिलसिलामा आउनुभएको हो’, उनले भने, ‘नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहनुभएको छ ।’

शनिबार भीमसेन थापा गाउँपालिकाका स्थानीयवासीले सुकुमवासी व्यवस्थापन, नदी डुबानको समस्यालगायत विषय उठाएका थिए । गृहमन्त्री गुरुङले स्थानीयवासीका समस्या र गुनासा समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए ।  

सडक पूर्वाधार, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल अभाव, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा गृहमन्त्री गुरुङ र स्थानीयवासीबीच छलफल भएको थियो ।  

भेटघाटका क्रममा उनले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकार्यमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्दै राज्यका सेवासुविधा छिटो, छरितो र पारदर्शी ढङ्गले नागरिकसम्म पुर्‍याइने बताए । गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ । 

प्रकाशित: ३० श्रावण २०८३ २१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App