नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकता र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका हुन् ।
उनले आदिवासी जनजातिको विकास, उत्थान तथा हकअधिकारको संरक्षण र आवश्यक अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘आदिवासी जनजातिहरुको सर्वोपरि, सर्वमुखी विकास, उत्थान, हकअधिकारहरुको सुरक्षा र आवश्यक अधिकारहरुको प्राप्ति हुनैपर्छ । त्यसका निम्ति पनि काम गर्नुपर्ने छ । सँगसँगै राष्ट्रिय एकता कसरी कायम गर्ने ? हामी सबैलाई थाहा छ, हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक लगायत विभिन्न भौगोलिक, वनस्पतीय, जैविक र सामाजिक विविधताले भरिएको देश हो।’
राष्ट्रको विकास, सुरक्षा, समृद्धि र सुशासनका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा ओलीले जोड दिए ।
उनले भने, ‘हामीले हाम्रो देशको विकासका लागि सबै एकजुट भएर मात्र विकास हुन सक्छ । त्यसकारण राष्ट्रको विकास, राष्ट्रको उत्थान, राष्ट्रको सुरक्षा, राष्ट्रको समृद्धि र सिङ्गै देशलाई विकास गरेर देशलाई सुशासनमा लगेर शान्तिपूर्ण नेपाल बनाएर सुखी नेपालीको देश बनाउनका लागि हामी सबै मिल्नुपर्दछ ।’
यसै क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारलाई संकेत गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाए । उनले आफूहरूलाई लक्षित गरी कानुनको दुरुपयोग हुनसक्ने दाबी समेत गरे ।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्न त्यो रोक्नको लागि कथित आयोग बनायो । कस–कसलाई मुद्दा लगाउनुपर्ने त्यो लगाउने, यसले के भन्यो भने उनीहरूलाई मुद्दा नलाग्ने । कानुन नै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, उनीहरूको नातागोताका लागि पनि मुद्दा नलाग्ने।’
ओलीले आफूलाई समेत सामान्य विषयमा छानबिनको नाममा दुःख दिन सक्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरे ।
उनले भने, ‘हाम्रो जरिकोट पनि कुन पैसाले किनेको भनी सोध्नुपर्ने। जरिकोट कहाँबाट आयो, नक्कली हो कि सिलाएको हो, कुनमा सिलाइस्, त्यो टेलरलाई पनि दुःख दिने। केपी ओलीको जरिकोट सिलाउने धागो कहाँबाट ल्याइस्, उसले पैसा दिएर सिलाइस् कि यसै सिलाइस् भनेर बयान दुई चार दिनलाई लिन र दिन सक्ने भयो। मुद्दा नचलाए पनि दुई चार दिन त भयो। यस्तै काम गरेर यिनीहरू बसेका छन्।’
प्रकाशित: ३० श्रावण २०८३ २०:२४ शनिबार





