मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित ताल्चा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको खुला सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालक गौरव भामको मृत्यु भएको छ। करिब १४ फिट गहिरो ट्यांकीमा जम्मा भएको वर्षाको पानीमा डुबेर स्थानीय जयबहादुर भामका छोराको मृत्यु भएको हो।
शनिबार दिउँसो करिब २:४० बजे ट्यांकीनजिक बालकका लुगा र चप्पल भेटिएपछि स्थानीयले विमानस्थलका सुरक्षा गार्डलाई खबर गरेका थिए। सहायक प्रहरी निरीक्षक बिर्खराज गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेपछि ट्यांकीको पानी बाहिर निकाल्दा बालकलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक नवीनकुमार शाहीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटाइएको छ।
दुःखद् संयोग के छ भने करिब १० दिनअघि पनि यही सेप्टिक ट्यांकीमा एक बालक डुब्न थालेपछि उद्धार गरिएको थियो। मृतकका आफन्त बाच्याँ महतारका अनुसार त्यसबेला तीन जना बालबालिका ट्यांकीमा पौडी खेल्न गएका थिए। त्यसमध्ये एक बालक डुब्न थालेपछि नेपालगन्ज जाने तयारीमा रहेका यात्रु अशोक खत्रीले उद्धार गरेका थिए।
उद्धारका क्रममा खत्रीको करिब ७० हजार रुपैयाँ नगद पानीले भिजेको र करिब ९० हजार रुपैयाँ मूल्य पर्ने मोबाइल बिग्रिएको आफन्तले बताएका छन्। त्यही घटनाबाट ट्यांकी जोखिमपूर्ण रहेको देखिए पनि त्यसपछि पनि घेरबार तथा चेतावनी संकेत नराखिएको स्थानीयको आरोप छ।
टर्मिनल भवन निर्माणको जिम्मा ओम बुद्ध इन्टरनेशनल प्रालिले लिएको बताइएको छ। निर्माणस्थलमा सेप्टिक ट्यांकी खुला छाडिएको र सर्वसाधारणको पहुँच रोक्न प्रभावकारी सुरक्षा व्यवस्था नगरिएको भन्दै मृतकका आफन्त तथा स्थानीय व्यवसायीले ठेकेदार पक्षको लापरबाहीलाई बालकको मृत्युको मुख्य कारण भएको आरोप लगाएका छन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा निर्माणस्थलमा तत्काल सुरक्षा प्रबन्ध मिलाउन माग गरेका छन्। जोखिमबारे यसअघि नै जानकारी हुँदाहुँदै पनि सुरक्षा घेरबार र चेतावनी संकेत नलगाइएको भन्दै उनीहरूले ठेकेदार पक्षप्रति आक्रोश व्यक्त गरेका छन्।
घटनाको जिम्मेवारीबाट ठेकेदार पक्ष पन्छिन खोजे विमानस्थलका उडान रोक्ने र बालकको शवसमेत नबुझ्ने चेतावनी परिवार तथा आफन्तले दिएका छन्। निर्माणाधीन संरचनामा सर्वसाधारणको पहुँच र विशेषगरी बालबालिकाको सुरक्षाका लागि आवश्यक प्रबन्ध नगर्दा भएको घटनाले विमानस्थल क्षेत्रमा निर्माण सुरक्षाको गम्भीर प्रश्नसमेत उठाएको छ।
प्रकाशित: ३० श्रावण २०८३ २०:३३ शनिबार





