६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राज्य व्यवस्था समितिमा विवादास्पद घटना दोहोरिन दिन्नँ: ईश्वरी न्यौपाने

नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आफ्नो उम्मेदवारी पार्टीको निर्णयअनुसार भएको बताउँदै समितिमा विगतमा जस्ता विवादास्पद घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन्।

संसदीय समितिहरूमध्ये अत्यन्तै संवेदनशील मानिने राज्य व्यवस्था समितिको सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

‘पार्टीको पदाधिकारी बैठकले मलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गर्‍यो,’ न्यौपानेले भनिन्, ‘म पार्टीको कार्यकर्ता हुँ, पार्टीले निर्णय गरेपछि नाइँ भन्ने कुरा भएन।’

संसदीय सुनुवाइ समितिको पूर्वसभापति समेत रहेकी न्यौपानेले राज्य व्यवस्था समितिमा हालै देखिएको उपसभापतिको लेटरहेड दुरुपयोगको घटनाप्रति संकेत गर्दै त्यस्ता कमजोरी दोहोरिन नदिने बताइन्।

‘भर्खरै एउटा घटना घटेको छ, त्यस्तो घटना नदोहोरियोस् भन्ने म चाहन्छु,’ उनले भनिन्, ‘त्यो विषय मैले नै संसदमा उठाएको थिएँ। उहाँ (उपसभापति) ले करुणाभावले पत्र दिनुभएको थियो तर प्रक्रिया र व्यक्ति सही थिएनन्।’

समितिमा ‘हेभिवेट’ र वरिष्ठ नेताहरू सदस्य रहेको स्वीकार्दै उनले सबैसँग सहजीकरण र सहकार्य गरेर अघि बढ्ने बताइन्। ‘जहाँ बढी चुनौती हुन्छ, त्यहाँ काम गर्ने सम्भावना पनि धेरै हुन्छ। मलाई चुनौती सामना गर्न रमाइलो लाग्छ,’ उनले भनिन्, ‘सबैसँग सहजीकरण गर्दै, सबैको साथ लिँदै अगाडि बढ्ने कोसिस गर्नेछु।’

यसअघि, कांग्रेस नेता रामहरि खतिवडाले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’को विषयमा पार्टीको ह्वीप मान्दै विधेयक पारित गराएपछि नैतिक आधारमा सभापति पदबाट राजीनामा दिएका थिए।

सोही रिक्त पदमा कांग्रेसले शीर्ष नेताहरूको दुई दिने लामो छलफलपछि अन्य आकांक्षीलाई पछि पार्दै न्यौपानेलाई अघि बढाउने निर्णय गरेको हो।

प्रकाशित: १० भाद्र २०८२ २१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App