नेकपा (एमाले) का सांसद् ऐन महरले सामाजिक सञ्जालमार्फत आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसदमा सुरक्षाको विषय उठाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् महरले आफूलाई गोली हानेर मार्ने धम्की दिने व्यक्तिको नाम, फोन नम्बर र ठेगानासहितको विवरण सदनसमक्ष सार्वजनिक गरेका हुन्।
बैठकमा बोल्दै उनले आफ्नो सामाजिक सञ्जालको पोस्टमा आएको धम्कीपूर्ण प्रतिक्रिया पढेर सुनाएका थिए। उनले भने, ‘मलाई एउटा आइडीबाट ‘ऐन महर आमा कसम तँलाई म गोली हानेर मार्छु’ भन्दै धम्की दिइएको छ। धम्की दिने व्यक्तिले आफ्नो नम्बर र ठेगानासमेत उल्लेख गरेका छन्।’
सांसद् महरका अनुसार प्राजुली राम नामको फेसबुक आइडीबाट सो धम्की आएको हो। धम्की दिने व्यक्तिले आफ्नो ठेगाना काठमाडौं बौद्ध–६, महाँकाल चोक, सङ्गलटोल भनी खुलाएको उनले सदनलाई जानकारी गराए। त्यसैगरी पूर्ण विक्रम क्षेत्री नामक अर्को फेसबुक आइडीबाट पनि आफूलाई गोली हान्ने धम्की आएको उनले बताए।
संसदमा जनसरोकारका विषय उठाउँदा र सरकारका कामकारबाहीको आलोचना गर्दा आफूलाई फेसबुक र फोनमार्फत तारन्तार धम्की आइरहेको महरको भनाइ थियो।
‘हामी जनताको अभिमत लिएर जनताकै सुखदुःखका कुरा बोल्न यो सदनमा आएका हौं,’ उनले भने, ‘हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौं। गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं। तर, सदनमा बोलेकै आधारमा यसरी ज्यान मार्ने धम्की आउनु विडम्बनापूर्ण छ।’
उनले जनप्रतिनिधिहरू नै असुरक्षित हुने वातावरण सृजना हुनु लोकतन्त्रका लागिसमेत घातक हुने भन्दै धम्की दिने तत्वहरूमाथि तत्काल कानुनी अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए।
प्रकाशित: ३० असार २०८३ १५:३९ मंगलबार





