२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

महामन्त्री पद छोड्न तयार छु, पार्टीमा आमूल सुधार गरौं: गगन

फाइल।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक यथार्थलाई स्वीकार गर्दै पार्टीमा आमूल सुधारका लागि आफू महामन्त्री पदसमेत छोड्न तयार रहेको घोषणा गरेका छन्।

उनले अन्तरिम सरकारलाई सहयोग र खबरदारी गर्दै तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउनु नै अहिले कांग्रेसको मुख्य राष्ट्रिय जिम्मेवारी भएको बताए।

सोमबार सामाजिक सञ्जालमा पार्टीका सबै तहका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो ६-बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले जेन-जी आन्दोलनपछिको चुनौतीपूर्ण परिस्थितिमा पार्टीले लिनुपर्ने बाटोबारे स्पष्ट धारणा राखे।

महामन्त्री थापाले अन्तरिम सरकार गठन र संसद विघटनको प्रक्रिया संविधानसम्मत नभए पनि यो आजको वास्तविकता भएकोले यसलाई स्वीकार गर्नुपर्ने बताए। ‘एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं,’ उनले भने, ‘कहीँ कतै यो मूल जिम्मेवारीबाट सरकार विचलित भयो वा अलमलियो भने खबरदारी गरौं।’

थापाले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएकोमा जोड दिए। उनले जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त समाजको नेतृत्व गर्न सक्ने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रिया र मुद्दाहरूमा आमूल सुधार आवश्यक रहेको सुनाए।

‘हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन,’ थापाले भने, ‘पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु।’

उनले यस विषयमा पार्टीभित्र गम्भीर छलफल सुरु गर्न आग्रह गरेका छन्।

उनले भदौ २३ गते राज्यले गरेको दमन र भदौ २४ गते भएको विध्वंश दुवैको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिनुपर्ने बताए। साथै, प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा तत्काल जुट्न र नागरिक सेवा प्रवाहमा कमी हुन नदिन पार्टीका सबै तहलाई अग्रसर हुन आग्रह गरे।

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दै निर्दोष युवाहरूको बलिदान खेर जान नदिने संकल्प गर्न सबैलाई आह्वान गरेका छन्।

प्रकाशित: ३० भाद्र २०८२ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App