नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आफ्नो नेतृत्वको सरकारले नीतिगत रूपमा अघि बढाएको ऐतिहासिक आयोजना भएको बताएका छन्।
सुरुङमार्ग सञ्चालनमा आएपछि सामाजिक सञ्जालमार्फत खनालले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने नागरिकले दशकौँदेखि ट्राफिक जाम र कठिन यात्राको सास्ती भोग्दै आएको उल्लेख गर्दै त्यसको समाधानका लागि दूरदर्शी पूर्वाधार निर्माण आवश्यक ठानेर आफ्नो सरकारले सुरुङमार्गको प्रक्रिया अघि बढाएको बताए।
उनले वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन आफूले हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसँग सम्बन्धित रहेको उल्लेख गरेका छन्। त्यसपछि २०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजनालाई स्वीकृति दिएको र वि.सं. २०६८ मा नीतिगत निर्णय गर्दै आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले स्मरण गरेका छन्।
खनालले त्यसबेला गरिएको दूरदर्शी राष्ट्रिय संकल्प आज यथार्थमा परिणत भएर सुरुङमार्ग सञ्चालनमा आएको देख्दा खुसी लागेको बताएका छन्। उनका अनुसार यो आयोजना दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको जीवन्त प्रतीक बनेको छ।
उनले राष्ट्र निर्माण कुनै एक व्यक्ति वा एक सरकारको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै विभिन्न समयमा नेतृत्व गर्ने सरकार, प्राविधिक, कर्मचारी, मजदुर, जापान सरकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यस्तो छ उनको सटाटस:
काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले दशकौँदेखि भोग्दै आएको सास्ती, अन्तहीन ट्राफिक जाम र कठिन यात्राको पीडा मैले नजिकबाट अनुभव गरेको थिएँ। मलाई सधैँ लाग्थ्यो, राष्ट्रको प्रगति केवल राजनीतिक परिवर्तनले मात्र सम्भव हुँदैन, त्यसका लागि जनजीवनलाई सहज बनाउने दूरदर्शी पूर्वाधारहरूको निर्माण अपरिहार्य हुन्छ। वि.सं. २०६७ माघ २३ मा मेरो नेतृत्वमा सरकार गठन भई प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन मैले हस्ताक्षर गरेको पहिलो फाइल यही नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण थियो। साथै, २०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद्ले यसलाई स्वीकृत गर्यो। त्यसपछि वि.सं. २०६८ मा यस आयोजनालाई नीतिगत रूपमा अघि बढाउने निर्णय गरियो र आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत यसको कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरियो। आज, त्यसबेला गरिएको दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भई यो सुरुङमार्ग सञ्चालनमा आएको देख्दा खुसी लागेको छ। आज यो सुरुङमार्ग दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको जीवन्त प्रतीकका रूपमा स्थापित भएको छ।
राष्ट्र निर्माण कुनै एक व्यक्ति, एक सरकार वा एक समयको प्रयासबाट मात्र सम्भव हुँदैन। यो त निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्वको प्रतिफल हो। त्यसैले यस ऐतिहासिक आयोजनालाई सफलतापूर्वक सम्पन्न गराउन विभिन्न समयमा नेतृत्व प्रदान गर्ने सरकारहरू, समर्पित मजदुरहरू, प्राविधिकहरू, कर्मचारी, जापान सरकार तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दै सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु।
मलाई विश्वास छ, यो सुरुङमार्गले नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा नयाँ युगको सुरुवात गरेको छ। यसले सुरक्षित, सहज, द्रुत र आधुनिक यातायात प्रणालीको विकासमा मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण, उत्पादनशीलताको विस्तार, पर्यटन प्रवर्द्धन र समग्र विकास यात्रालाई नयाँ गति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।
प्रकाशित: १२ श्रावण २०८३ १३:३७ मंगलबार





