२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

मानव-बाघ द्वन्द्वले चुनौती

चितवन राष्ट्रिय निकुञ्जवरपरका बस्तीमा बाघ पसिरहन्छन्। पछिल्ला ६ वर्षमा बस्ती छिरेका ३१ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिइसकेको छ। उता बर्दिया राष्ट्रिय निकुञ्जले पनि मानिस तथा पशु चौपायामा क्षति पुर्‍याएका २५ वटा बाघ पाँच वर्षको अवधिमा नियन्त्रणमा लिएको तथ्यांक छ। नियन्त्रणमा परेका केही बाघलाई निकुञ्जको कोर क्षेत्रमा पुनः छाडिएको छ भने केहीलाई विशेष खोरमा राखिएको छ।

नेपालमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व व्यवस्थापन संरक्षणको नयाँ चुनौती बन्दै गएको छ। बाघ संरक्षणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गरिरहेको छ। यद्यपि त्यससँगै स्थानीय समुदायको सुरक्षा, जीविकोपार्जन र सहअस्तित्वको प्रश्न पनि उत्तिकै गम्भीर बन्दै गएको छ।

यसको सबैभन्दा पीडादायी उदाहरण सन् २०२२ मा चितवनमा देखियो। त्यतिबेला जिल्लाका विभिन्न भागमा दुईवटा बाघले नौजनाको ज्यान लिएका थिए। मानिसमाथि आक्रमण गर्ने तीमध्ये एउटा बाघलाई कुमरोज मध्यवर्ती सामुदायिक वन र अर्को बाघलाई मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।

चितवन राष्ट्रिय निकुञ्जमा प्रत्येक वर्ष बाघको संख्या बढिरहेको छ। यससँगै निकुञ्जबाट बस्तीमा बाघ पस्ने क्रम अझै रोकिएको छैन। बाघको संख्या बढ्दै जाँदा संरक्षणसँगै मानव सुरक्षामा पनि प्रश्न उठ्न थालेको छ। यद्यपि सन् २०२२ मा चितवनमा बाघले १६ जनाको ज्यान लिए पनि यस वर्ष भने एकजनाको पनि मृत्यु भएको छैन। केरुंगा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लालबहादुर दवाडी संरक्षणको सफलता मात्र पर्याप्त नहुने बताउँछन्। ‘अहिले गाउँमा चितुवाले पनि सताएको छ। गाईवस्तु मारेका घटना दिनप्रतिदिन बढिरहेका छन्’, उनी भन्छन्, ‘सरकारले बाघसँगै जनताको पनि संरक्षण गर्नुपर्छ।’

बाघको संख्या बढ्दा यसले भोलि असर पार्ला भन्ने विषयमा समेत चिन्ता थपिएको छ। संरक्षणकर्मी अपिल घिमिरेले पटिहानी, जगतपुर क्षेत्रका वनमा आश्रित मानिस जंगल जान छाडेको बताए। ‘हाम्रो क्षेत्रमा वनमा आश्रित ३१ टोलका मानिस जंगल जानु हुँदैन। उहाँहरूको आयस्रोत नै गुम्न थालेपछि अबको बाटो के हुन्छ?’, उनले प्रश्न गर्दै भने, ‘यस्ता कुरामा बेलैमा नसोचेमा झन् खतरासमेत हुन सक्छ।’ उनले मानिसलाई बाघको आनीबानीसम्बन्धी जनचेतना जगाउनुपर्ने धारणासमेत राखे।

बाघ विशेषज्ञ डा. बाबुराम लामिछाने भने सबै बाघलाई जोखिमपूर्ण रूपमा बुझ्नु उचित नहुने बताउँछन्। उनका अनुसार नेपालका करिब ९५ प्रतिशत बाघ मानिसको सम्पर्कमै आएका छैनन्। केवल पाँच प्रतिशत बाघ मात्रै विभिन्न कारणले बस्तीमा पस्ने गरेका छन्।

‘बाघ मांसाहारी भए पनि हिंस्रक जनावर होइन’, लामिछानेले भने, ‘यो लजालु प्रजाति हो। मानिससँग एक्कासि जम्काभेट हुँदा आफूलाई असुरक्षित महसुस गरेपछि मात्रै आक्रमण गर्ने सम्भावना हुन्छ।’ डा. लामिछानेका अनुसार मानव–बाघ द्वन्द्व कम गर्न बाघको प्राकृतिक बासस्थान संरक्षण, वन व्यवस्थापन र पर्याप्त आहार प्रजातिको संरक्षण अपरिहार्य छ।

बाघको क्षेत्राधिकार पनि निकै फराकिलो हुन्छ। एउटा पोथी बाघले करिब २० देखि सय वर्ग किमि क्षेत्र ओगट्न सक्छ भने भाले बाघले ६० देखि २५० वर्ग किमि, कतिपय स्थानमा चार वर्ग किमिसम्म आफ्नो इलाका बनाउँछ तर चितवनजस्तो सिकार प्रशस्त भएको क्षेत्रमा २० देखि ६० वर्ग किमिमै बाघले सहजरूपमा जीवनयापन गर्न सक्छ। बाघ सामान्यतः १० देखि १५ वर्षसम्म बाँच्छ। खोरमा राखिएका बाघ भने २० वर्षसम्म पनि जीवित रहने गरेका छन्।

यता नेपालमा भने बाघको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणअनुसार देशभर बाघको संख्या ४२९ पुगेको छ। सन् २०२२ मा यो संख्या ३५५ थियो। चार वर्षको अवधिमा नेपालमा ७४ वटा बाघ थपिएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा १७ वटा बाघ बढेर संख्या १४५ पुगेको छ। सन् २०२२ मा यहाँ १२८ वटा बाघ थिए। नेपालमै सबैभन्दा धेरै बाघ पाइने निकुञ्ज पनि चितवन नै हो।

बर्दियामा बाघको संख्या किन घट्यो ?

बर्दिया नागरिककर्मी निर्मल घिमिरेका अनुसार बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या अघिल्लो गणनामा १२५ रहेको बाघको संख्याबाट घटेर ११२ मा झरेको तथ्यांक सार्वजनिक भएको छ। १३ वटा बाघ घटेपछि यसको कारणबारे विभिन्न प्रश्न उठ्न थालेका छन्। चार वर्षमा १३ वटा बाघ कसरी घट्यो भन्ने प्रश्न नागरिक स्तरबाट उठेको छ। प्राकृतिक कारणले आठवटा बाघ मरेको देखिन्छ। बर्दिया निकुञ्ज रम्मापुर र मुख्यालय ठाकुरद्वारामा गरी पाँचवटा बाघ उद्धार केन्द्र राखिएको र एउटा बाघ चिडियाखाना पठाएको अभिलेखमा देखिएको कर्मचारी बताउँछन्।

बर्दिया निकुञ्जबाट मध्यवर्ती क्षेत्रका बासिन्दालाई निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत समुदायमा खर्च गर्ने बाध्यकारी नभएका कारण पछिल्लो समय मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्दै गएको छ। समुदायमा न्यायोचित रूपमा निकुञ्जले गरेको आम्दानीको स्रोतलाई समुदायमा विभिन्न अड्चनबिच पठाउन नसकिएको विषयमा स्थानीय आक्रोशित छन्।

मानव–वन्यजन्तु द्वन्द्वको दबाब कम देखाउन निकुञ्ज प्रशासनले बाघको संख्या कम देखाएको हो कि भन्ने आंशका रहेको मध्यवर्तीका कृष्ण चौधरीले आंशका व्यक्त गरे। उनका अनुसार बाघ गणना अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्यामेरा ट्य्राप, पगमार्क, बासस्थान विश्लेषण तथा वैज्ञानिक तथ्यांकका आधारमा गरिने भएकाले यसको विश्वसनीयता उच्च मानिन्छ।

शुक्लाफाँटामा कम क्षेत्रफलमा बढी बाघ

धनगढी नागरिककर्मी दिलबहादुर छत्यालका अनुसार ‘जंगलको राजा’ भनेर चिनिने बाघले जंगलमा निश्चित क्षेत्रफलको किल्ला छुट्याएर बसेको हुन्छ। उसले आफ्नो ‘एरिया’ छुट्याउन चारैतिर नाग्राले रुख कोतरेर दिसा–पिसाब छाड्ने गर्छ ताकि त्यस क्षेत्रभित्र अर्को बाघ नआओस्। विज्ञहरूका अनुसार एउटा भाले बाघ ५०–६० किमि क्षेत्रफल कब्जा गरेर बस्ने गर्छ। पोथी बाघ १० देखि ३० किमि क्षेत्रफलमा बस्ने गर्छ। एक भाले बाघको ठाउँमा तीन पोथी बाघ बस्न सक्ने बताउँछन्।

शुक्लाफाँटा निकुञ्ज ३०५ वर्ग किमि क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १४ वटा बाघ बढेका छन्। २०८२ सालमा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ५० पुगेको छ। चार वर्षअघि सन् २०२२ को सर्वेक्षणमा ३६ वटा मात्र बाघ थिए।

निकुञ्ज कार्यालयले सन् २०२४ मा गरेको गणनामा यहाँ बाघको संख्या ४३ थियो। शुक्लाफाँटा लालझाडी कम्प्लेक्समा २ गुणा २ किमि ग्रिड बनाएर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा कम्तीमा १५ दिनसम्म राखिएको थियो। तिनै स्वचालित क्यामेराले कैद गरेको तस्बिरका आधारमा बाघको संख्या गणना गरिएको हो।

आहार प्रजाति प्रशस्त

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ५० बाघको संख्याबमोजिम क्षेत्रफल कम भए पनि आहार प्रजातिका लागि भने अनुकुल रहेको छ। नेपालमै सबैभन्दा ठूलो घाँसे मैदान रहेको शुक्लाफाँटामा बाघका लागि पर्याप्त आहार र खानेपानी उपलब्ध छ। शुक्लाफाँटामा प्रतिवर्ग किमि १४६ आहार प्रजाति छन्। शुक्लाफाँटामा बाघका लागि बासस्थानको पनि राम्रो व्यवस्था छ। निकुञ्जभित्र प्राकृतिक ताल छन् भने १४ वटा कृत्रिम तालसमेत बनाइएको छ।

व्यवस्थापनमा ध्यान दिनुपर्ने

वरिपरि बस्ती रहेको शुक्लाफाँटामा ३०५ वर्ग किमि क्षेत्रफलमै ५० बाघ भएपछि मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन गर्न ठुलो चुनौती देखिएको छ। यसअघि पनि बाघ बस्तीमा पसेर अथवा मेलापात गएकाहरूलाई बाघले आक्रमण गर्दा कयौंको ज्यान गइसकेको छ। पहिलो गणना भएका बेला १२१ बाघबाट दोब्बर बनाउने सरकारको घोषणा हो। अब बाघको संख्या बढाउनभन्दा पनि व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको राय छ। विश्वमा १३ देशमा मात्र बाघ पाइन्छ। बाघ अढाई–तीन वर्षमा बयस्क भइसक्छ भने १६ देखि २० वर्ष यसको आयु हुने गरेको विज्ञ बताउँछन्।

बाँकेमा शतप्रतिशतले बढे बाघ

बाँके नागरिककर्मी गणेश विशुका अनुसार नेपालका राष्ट्रिय निकुञ्जमध्ये बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा ऐतिहासिक सफलता हासिल गरेको छ। पछिल्लो बाघ गणनामा यहाँ बाघको संख्या शतप्रतिशतभन्दा बढीले बढेर २५ बाट ५१ पुगेको छ। बाघका लागि सुरक्षित बासस्थान, पर्याप्त आहार र पानी उपलब्ध हुँदा बाँके राष्ट्रिय निकुञ्जलाई बाघ संरक्षणमा ऐतिहासिक सफलता मिलेको हो। चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० वटा बाघ रहेका छन्।

अघिल्लो गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ थिए। यस आधारमा चितवनमा १७, पर्सामा ३०, शुक्लाफाँटामा १४ र बाँकेमा २६ वटा बाघ थपिएका छन् भने बर्दियामा १३ वटा घटेका छन्। बाँकेको चुरे–भावर क्षेत्र प्राकृतिक रूपमा सुक्खा भएकाले पानीको अभाव वन्यजन्तु संरक्षणको प्रमुख चुनौती थियो। यही समस्यालाई मध्यनजर गर्दै निकुञ्जले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेको, विभिन्न स्थानमा पाइपमार्फत पानी पुर्‍याएर जलाशय तयार गरेको र वर्षभरि पानी उपलब्ध हुने व्यवस्था मिलाएको छ। यसबाट बाघसँगै चित्तल, जरायो, चौका, निलगाई लगायतका आहार प्रजातिलाई पनि प्रत्यक्ष लाभ पुगेको निकुञ्जको भनाइ छ।

घाँसे मैदानको नियमित व्यवस्थापनले आहार प्रजातिको संख्या वृद्धि भएको छ। पर्याप्त आहार उपलब्ध भएपछि बाघको प्रजनन र स्थायित्वमा समेत सकारात्मक प्रभाव परेको संरक्षणकर्मी बताउँछन्। त्यससँगै चोरीसिकारी नियन्त्रणका लागि गस्तीलाई थप प्रभावकारी बनाइएको र वन्यजन्तुको बासस्थानमा हुने अतिक्रमण रोक्न विशेष ध्यान दिइएको छ।

प्रकाशित: २१ श्रावण २०८३ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App