जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्। ती मतदाताले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन्।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या छ लाख ८२ हजार ९९३ पुगेको छ। यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए।
अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ। “मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले भने, “एकै दिन तीन सय जनासम्म मतदाताको सूचीमा नाम दर्ता गराउन आउने गर्नुभएको छ। नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ।”
यही कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या दुई हजार ६२२ पुगेको हो। कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: ५ कार्तिक २०८२ ०७:१२ बुधबार




-600x400.jpg)
