२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : यी नेताले आफैँलाई मत दिन पाउने छैनन्

भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलका केही नेताहरूले आफैँ उम्मेदवार बनेको ठाउँमा आफैँलाई मतदान गर्न नपाउने भएका छन्। उनीहरूको मतदानको स्थायी ठेगाना फरक ठाउँमा र उम्मेदवारी फरक ठाउँमा हुँदा मतदान गर्नबाट वञ्चित भएका हुन्।

प्रतिनिधिसभा सदस्यमा मतदाता नामावली नभएको विभिन्न स्थानमा पुगेर आफ्नो उम्मेदवारी दिन पाउने भए पनि उक्त स्थानबाट मत दिने व्यवस्था नभएका कारण उनीहरू प्रत्यक्ष मताधिकारबाट वञ्चित भएका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली भक्तपुरस्थित सूर्यविनायक नगरपालिका-२ बालकोटमा छ। त्यसैले उनले आफूले उम्मेदवारी दिएको स्थानबाट आफैँलाई मतदान गर्न नपाउने भएका हुन्। 

त्यस्तै नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्, जसका कारण उक्त क्षेत्रमा उनले आफूलाई मतदान गर्न नपाउने भएका छन्। उनको नाम चितवनको मतदाता सूचीमा छ।  

कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ बाट उम्मेदवारी दिएका कारण उनले त्यहाँ आफूलाई मतदान गर्न पाउने छैनन्। थापा काठमाडौं–४ मा मतदाता हुन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चितवन–२ का उम्मेदवार हुन् तर उनी काठमाडौं–३ बाट मतदाता भएका कारण आफैँलाई मतदान गर्नबाट वञ्चित भएका छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पनि झापा–५ मा आफूलाई मत दिन पाउने छैनन् भने रवीन्द्र मिश्र, स्वर्णिम वाग्लेलगायतका नेताले आफूलाई मतदान गर्न नपाउने भएका छन्।

प्रकाशित: २० फाल्गुन २०८२ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App