बाजुरा निर्वाचन क्षेत्र नम्बर-१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजय भोगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले आफ्ना समर्थकलाई बजुरेली जनतालाई गालीगलौज नगर्न अपिल गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बाजुराका मतदातालाई लक्षित गरी भइरहेको आलोचना र दुर्व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो आग्रह गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार बाजुरा–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १ सय ७३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरे।
रास्वपाका उम्मेदवार थापा भने ६ हजार ३५ मत ल्याएर तेस्रो स्थानमा सीमित भए।
आफ्नो पराजयपछि थापाले बाजुरा आफ्नो घर र त्यहाँका १ लाख ५० हजार नागरिक आफ्ना परिवार भएको सुनाए। समर्थकहरूले देखाएको मायाप्रति आभार व्यक्त गर्दै उनले बाजुराका जनतालाई विभिन्न भाषामा गिज्याउने र जनावर भन्दै अपमानित गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।
‘तपाईं मलाई माया गर्नुहुन्छ, त्यो मलाई थाहा छ। बाजुरा मेरो घर हो र १ लाख ५० हजार बजुरेली मेरा आफ्ना हुन्। अब प्लिज मेरा आफ्नाहरुलाई गाली नगरिदिनुहोस्। हामी मान्छे हौँ, जनावर होइनौँ, हामीलाई मान्छे नै रहन दिनुहोस्।’ उनले भने।
विगत ३४ वर्षदेखि राज्यसत्ताले बाजुरा र त्यहाँका नागरिकमाथि निरन्तर सौतेनी व्यवहार गरेको उनले सुनाए। राजधानीबाट १२ सय किलोमिटर टाढा रहेको बाजुरामा सडक, अस्पताल, सञ्चार र रोजगारीको चरम अभाव रहेको बताउँदै उनले शासकको विभेद र बेवास्ताका कारण जिल्लाले यस्तो नियति भोग्नुपरेको टिप्पणी गरेका छन्।
आफ्नो चुनावी अभियानका क्रममा बजुरेली जनताले देखाएको माया र सद्भावको उनले स्मरण गरे। खल्तीमा एक रुपैयाँ नबोकी ५० दिनभन्दा बढी गाउँबस्ती डुल्दा पनि जनताले आफूलाई भोको र अनिदो बस्न नदिएको उनले बताएका छन्।
उनले थपे, ‘मेरा मान्छेहरु, मेरा बजुरेलीहरु यो पृथ्वीको सबैभन्दा प्रेमिल, मायालु र सोझा मान्छेहरु हुन्। यो मेरो लडाइँ हो र म मेरो बाजुरा र बजुरेलीमाथि सत्ताले गरेको विभेदका विरुद्ध लड्न सक्षम छु। मेरो लडाइँ जारी छ।’
राज्यसत्ताले गरेको विभेदको अन्त्य गर्न र बाजुराको विकासका लागि आफ्नो संघर्ष निरन्तर रहने प्रतिबद्धतासमेत उनले जनाएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ २२:१३ आइतबार





