२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

माओवादीले नेकपासँग एकताको निर्णय गरेकै हो? चन्दलाई पत्यारै लागेन

नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकता हुने नयाँ कुरा होइन। यो कुरा केही वर्षयता नै चालू अवस्थामा छ। नेकपाका महासचिव नेत्रविक्रम चन्दले पार्टीको केन्द्रीय समिति बैठकबाट पोहोरै यो निर्णय पारित पनि गराइसकेका हुन्। तर, माओवादीले भने यसबारे कुनै निर्णय लिएको थिएन।

तर, गत शुक्रबार सुरु भएर सोमबार (आज) समापन भएको स्थायी समिति बैठकबाट भने माओवादीले नेकपासँग एकताको निर्णय गरेको दाबी गर्‍यो। यद्यपि, बैठकको निर्णयहरूमा भने यसबारेको निर्णय देखिँदैन। बैठकले २६ वटा निर्णयहरू गरेको छ। तर, नेकपासँगको एकताबारे त्यहाँ केही लेखिएको देखिँदैन।

बैठकपछि पत्रकारहरूसँग बोल्दै पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने नेकपासँग एकताको निर्णय भएको दाबी गरे। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि एकताबारे कुराकानी भइरहेको दाबी गर्दै प्रवक्ता सापकोटाले भनेका छन्, ‘विल्पव नेतृत्वको नेकपासँग एकताको निर्णय भएको छ।’

प्रवक्ता सापकोटाले निर्णय भएको दाबी गरे पनि नेकपा महासचिव चन्दलगायतका नेताहरूलाई भने पत्यारै लागेको छैन। प्रवक्ता खड्गबहादुर विश्वकर्मा माओवादीले एकताबारे छलफल नै नगरेको जिकिर गर्छन्। यसबारे जिज्ञासा राख्दा नागरिकसँग विश्वकर्माले प्रतिप्रश्न गरे, ‘प्रवक्ताले बाहिर पत्रकारहरूसँग मात्रै भनेका रहेछन् कि साँच्चै छलफल नै भएको रहेछ ?’

उनले थप भनेका छन्, ‘माओवादीले कुन उद्देश्यका लागि अहिले त्यस्तो निर्णय गर्‍यो, उही जान्दछ। तर, यही तरिकाले एकता सम्भव देखिँदैन।’ त्यसो त नेकपाले माओवादीले एकताका लागि ढिलाइ गरिरहेको बताउँदै आएको छ। केही दिन पहिले महासचिव चन्दले समाजवादी मोर्चा नै विघटनको प्रस्ताव अगाडि बढाएका थिए। मुख्यत: माओवादी अध्यक्ष दाहालको पहलमा बनेको मोर्चा विघटनको प्रस्ताव गरेपछि माओवादीले यस्तो निर्णय गरेको हो भन्ने चर्चा चलेको छ।

अर्कोतिर महासचिव चन्दले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन्। यसबीचमा उनले मोहन विक्रम सिंह, झलनाथ खनाल, ऋषि कट्टेल, माधव नेपाल, शंकर पोखरेललगायतका नेताहरूसँग संवाद गरेका छन्। यसैले पनि माओवादीले त्यस्तो निर्णय गरेकव हो भन्ने आशङ्का प्रवक्ता विश्वकर्माकै छ।

उनले माओवादीले आफूहरूसँगको सल्लाहमा निर्णय नलिएको भन्दै त्यसलाई ‘हावामा तीर हानेको’ रूपमा व्याख्या गरेका छन्। आफूहरूले संसदीय नभई क्रान्तिकारी माओवादीको कुरा गरेको पनि उनले बताएका छन्। 'पार्टी एकताबारे माओवादी स्थायी समितिको निर्णय हावामा तीर हानेजस्तो छ, हावामा हानेको तीरलाई हाम्रो पार्टीले कसरी लिने, यसबारे छलफल त होला। तर, यो कुन मक्सदका साथ आएको छ थप बुझ्नुपर्ने हुन्छ,' उनले भने।

माओवादी सचिव दीनानाथ शर्मा भने एकताबारे छलफल भएकै बताउँछन्। प्रवक्ता विश्वकर्माको आशङ्का सुनाउँदा शर्माले भने, ‘किन नहुनू, मज्जाले त्यस विषयमा छलफल भएको हो।’ उनले अब कार्यदल बन्ने र त्यही कार्यदलले पार्टी एकताको प्रक्रिया अगाडि बढाउने पनि बताउँछन्। ‘नेकपाले केन्द्रीय समितिबाटै पहिले नै पारित गरेर ल्याएको हो तर, हाम्रोमा त्यो निर्णय भएको थिएन। तर, अब चाहिँ भयो। एकता हुने भयो,’ उनले भने।

त्यसो त दुई वर्षअघि दाहालले चन्दलाई पार्टी प्रवेश गराउने र पार्टी महासचिव बनाउने तयारी गरेको चर्चा सुनिन्थ्यो। तर, त्यसबीचमा माओवादीले खास 'रेस्पोन्स' गरेन। यसपछि चन्दले माओवादी अधयक्ष दाहालकै कारणले एकता नभएको बताउने गरेका थिए। तर, समाजवादी मोर्चा नै विघटनको प्रस्ताव राखेपछि दाहाल रौसिएका हुन्। उनले पार्टीको आधिकारिक निर्णय नगराउने तर, प्रवक्तालाई मुखले भनाउने गर्दा चन्द थप चिढिएका छन्। 

प्रकाशित: १९ श्रावण २०८२ २०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App