राष्ट्रिय सभामा युवाहरूको निराशा र आत्महत्याबारे सोधिएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले आफू पनि ६/७ महिनामा धेरै संघर्ष गरेर आएको युवा भएको बताएका छन्।
उनले निराशा र दुःखबाट सम्झौता नगरी त्यसलाई अपनत्व ग्रहण गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन्।
बिहीबारको राष्ट्रिय सभा बैठकको प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णु बहादुर विश्वकर्माले देशमा बेरोजगारी र गरिबीका कारण युवा वर्गमा चिन्ता, निराशा र आत्महत्या जस्ता भयावह स्थिति बढिरहेको भन्दै त्यसलाई रोक्न सरकारले कस्ता नीति तथा कार्यक्रम बनाएको छ भनी गृहमन्त्रीसँग जवाफ मागेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले युवाहरूमा बढ्दो मानसिक तनाव र निराशा सम्बोधन गर्न सरकारले तीनवटै तहसँग समन्वय गरेर काम गरिरहेको बताए।
आत्महत्या रोकथामका लागि सरकारले ११६६ नम्बरको नि:शुल्क हेल्पलाइन सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले खेलकुद र प्रविधिमा युवाहरूलाई जोड्न बजेट तथा कार्यक्रम तय गरिएको दाबी गरे।
आफ्नो व्यक्तिगत उदाहरण दिँदै गृहमन्त्री गुरुङले भने, ‘६/७ महिनामा धेरै संघर्ष गरेर आएको एउटा युवा हामी पनि हौं। यो भोग्दाभोग्दै पनि हामी अगाडि बढिरहेका छौं। जीवनमा दुःख हुन्छ नै, तर दुःखलाई अपनत्व गरेर आफ्नो बल बनाई अगाडि बढ्नुपर्छ।’
उनले युवाहरूलाई कहिल्यै हरेस नखान समेत आग्रह गरे। तर, सांसद विश्वकर्माले पुनः पूरक प्रश्न गर्दै मनोवैज्ञानिक परामर्श र खेलकुदले मात्र नपुग्ने भन्दै युवालाई स्वरोजगार बनाउन, शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउन सरकारी लगानी र बजेटको व्यवस्था कस्तो छ भनी सोधेका थिए।
उक्त प्रश्नमा गृहमन्त्री गुरुङले व्यङ्ग्यात्मक शैलीमा हाँस्दै उक्त विषय गृह मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने बताए। ‘अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनुपर्ला,’ गृहमन्त्रीले भने।
मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय नभएको बताएपछि सभाध्यक्षले उनलाई आसन ग्रहण गराएका थिए।
प्रकाशित: २१ श्रावण २०८३ १४:५५ बिहीबार





