प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले लोकतन्त्र र अराजकताबीचको भिन्नता बुझ्न आवश्यक रहेको बताएका छन्। उनले आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र धम्कीपूर्ण अभिव्यक्तिप्रति सरकारको ध्यानकर्षण गराउँदै यस्तो बताएका हुन्।
साम्पाङले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत गाली गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिको प्रसंग उठाउँदै गल्ती गर्ने नागरिकलाई सुधारिने अवसर दिनुपर्ने बताए।
‘केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ,’ उनले भने, ‘एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ। जेनजी हुन् युवा हुन, अभिव्यक्ति दिएको भरमा कठोर सजाय दिने, जेल चलान गर्ने दिशामा सरकार जानु उचित हुँदैन।’
साम्पाङले सामाजिक सञ्जालमा बढ्दो गालीगलौजको प्रवृत्ति नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। साथै उनले गाली गर्ने चलनलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा हामी सबै सचेत हुनुपर्ने पनि बताए।
उनले कानुनको समान कार्यान्वयनमा पनि प्रश्न उठाए। प्रधानमन्त्री वा मन्त्रीलाई गाली गर्दा पक्राउ पर्ने तर सांसदलाई गाली गर्दा त्यस्तो कारबाही नहुने हो कि भन्ने प्रश्न गरे।
साम्पाङले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र घर जलाइदिने धम्की आएपछि साइबर ब्युरोमा उजुरी दिएको तर उजुरीपछि पनि सम्बन्धित व्यक्तिहरूमाथि पक्राउ नपरेको बताए।
उनले थपे, ‘मलाई पनि दुई जना व्यक्तिले ज्यानै मार्ने, तेरो घर नै जलाइदिन्छु भन्ने सम्मको अभिव्यक्ति दिनुभयो । मैले साइबर ब्युरोमा रिपोर्ट गरे तर ती व्यक्तिहरु पक्राउ परे जस्तो लाग्दैन,’
उनले भने , ‘प्रधानमन्त्री, मन्त्रीहरुलाई गाली गर्दा पक्राउ पर्ने अनि सांसदहरुलाई गाली गर्दा पक्राउ पर्ने कि नपर्ने भन्ने हो?
प्रकाशित: २४ असार २०८३ १३:३० बुधबार



-600x400.jpg)

