२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

हर्कले भने- भिजन नभएकाहरूले चुनाव जित्नु हुँदैन

धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भिजन नभएका र ठगी धन्दामा मुछिएकाहरूले चुनाव जित्नु नहुने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल र भिडियो सन्देशमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले नयाँ र वैकल्पिक शक्तिका नाममा बनेको पछिल्लो राजनीतिक समीकरणप्रति आक्रोश पोखेका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङबीचको सहकार्यलाई ‘ठगहरूको गठबन्धन’ को संज्ञा दिए।

साम्पाङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेनमाथि आक्रोश पोखे।

उनले लामिछानेलाई लक्षित गर्दै जेलबाट भागेको र सहकारी ठगी प्रकरणमा मुछिएको व्यक्तिले आफूलाई विकल्प ठानिरहेको टिप्पणी गरे।

त्यस्तै, उनले बालेनलाई विदेशी दलालको संज्ञा दिँदै उनीहरूबाट देशको निकास सम्भव नभएको जिकिर गरे।

केही समयअघि रास्वपा, बालेन र कुलमान घिसिङ एक ठाउँमा उभिएपछि साम्पाङले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। उनले कुलमानको पार्टीलाई समेत ‘पोइला गएको’ भन्दै व्यंग्य गरेका थिए।

विपक्षीहरूको आलोचनासँगै साम्पाङले आगामी निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले कार्यकर्ता र शुभचिन्तकलाई मेहनत बढाउन निर्देशन समेत दिए।

उनले लेखेका छन्, ‘झ्यास गनेर गन्तव्यमा पुगिँदैन ! जसले जे भने पनि सरकार हाम्रै बन्ने छ ! श्रमदाता हो। १० गुणा धेरै खट्नु होला ! ढुङ्गामाटो सबै आफ्नो पक्षमा बनाउनु पर्छ ! मान्छेको मात्र त के कुरा !’

उनले अचेतहरूले मात्र ठगलाई भोट हाल्ने भन्दै सचेत नागरिकहरूलाई एकताबद्ध हुन आह्वान समेत गरेका छन्।

पुराना दलहरूले लुटतन्त्र मच्चाएको र नयाँ भनिएकाहरू पनि अस्थिर रहेको बताउँदै साम्पाङले ‘श्रम संस्कृति’ ले पाँच वर्ष सरकार चलाउन पाए देशको मुहार फेर्ने दाबी गरे।

‘देश माटोमय र श्रम संस्कृतिमय बनेको छ,’ उनले भने, ‘हामीले चलाउन पायौँ भने देशलाई थितिगत र विधिगत बनाउँछौं। विशेषगरी शिक्षा क्षेत्रमा ठूलो छलाङ हान्छौँ।’

उनले आफ्नो पार्टीको चुनाव चिह्न माटोको प्रचारप्रसारमा लाग्न सबैलाई आग्रह गरे।

प्रकाशित: १९ पुस २०८२ २१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App