शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा गोविन्द केसीसँग संवादमार्फत सहमतिपूर्ण समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार डा केसी धर्नामा बसेपछि स्वास्थ्यमा समस्या देखिए छ । त्यो सँगै शिक्षामन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार वार्ताका माध्यमबाट समस्या समाधान गर्ने प्रयासमा रहेको जानकारी दिएका हुन्।
पोखरेलका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल डा केसीसँग प्रत्यक्ष संवाद गर्न धनगढी पुगेका छन्। सचिव पौडेलको भ्रमण वार्तालाई औपचारिक रूपमा अघि बढाउने उद्देश्यले गरिएको उनले उल्लेख गरेका छन्।
मन्त्री पोखरेलले आफूले शुक्रबार साँझ नै डा गोविन्द केसीसँग टेलिफोनमार्फत संवाद गरेको र त्यसकै निरन्तरतास्वरूप मन्त्रालयका सचिवलाई धनगढी पठाइएको बताएका छन्।
उनका अनुसार आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जे पी अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि धनगढी पुगेर वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ।
शिक्षामन्त्री पोखरेलले सरकारले संवादका माध्यमबाट डा केसीले उठाएका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रकाशित: ९ श्रावण २०८३ १७:२४ शनिबार



-600x400.jpg)

