१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : कांग्रेस

नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति बन्द गर्न सरकारसँग माग गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘जनदबाबपछि रिहाइभन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार,’ थापाले विज्ञप्तिमा भनेका छन्।

समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालको निरंकुशताको झल्को दिएको कांग्रेसको ठहर छ।

विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै कांग्रेसले त्यस्तै निरंकुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक भएको जनाएको छ।

प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका लागि कांग्रेस स्थापनाकालदेखि नै लड्दै आएको उल्लेख गर्दै थापाले निरंकुश र स्वेच्छाचारी कदमविरुद्ध आफ्नो पार्टी निरन्तर उभिने बताएका छन्।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको जनाएको छ।

ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु भएको कांग्रेसको भनाइ छ।

कांग्रेसले सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको कदमको कडा शब्दमा भर्त्सना गर्दै नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकार रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App