१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

प्रहरीले भन्यो : प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारकर्मीलाई बोलाइएको हो

सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ। प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नरहेको दाबी गरेको छ भने नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयबाट भएको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको जनाएको छ।

नेपाल प्रहरीले शुक्रबार मध्यरातमा वक्तव्य जारी गर्दै यस्तो जनाएको हो। प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देशहरू निरन्तर प्रचार भइरहेको वक्तव्यमा उल्लेख गरेको छ।

यस्ता सन्देशले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना पैदा गर्ने प्रहरीको भनाइ छ।

प्रहरीले प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको जनाएको छ।

‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा भनिएको छ।

प्रहरीले उक्त कार्यलाई सुरक्षित समाज निर्माणका लागि सहयोग पुग्ने कदमका रूपमा व्याख्या गरेको छ।

वक्तव्यमा राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी सकारात्मक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति सदैव प्रतिबद्ध तथा कटिबद्ध रहने जनाइएको छ।

तर प्रधानमन्त्रीको सचिवालयले भने घटनामा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नभएको दाबी गरेको छ।

यस्तो छ प्रहरीको वक्तव्य:

हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो।

यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ। राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ।

प्रकाशित: १४ कार्तिक २०८३ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App