राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ।
यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गरेका हुन्। त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो।
राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिङ्गारेर राष्ट्रिय झण्डाले झकीझकाउ पारिएको छ।
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ।
सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष)मा उपस्थित हुनका लागि आग्रह गरिएको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो।
प्रकाशित: २८ वैशाख २०८३ १४:१६ सोमबार





