अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आजको अन्तर-सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।
उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ ।’
उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेको जानकारी दिए । तर आन्तरिक तथा बाह्य कारणका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण अवस्था उनले बताए ।
उनले भने, ‘राजनीतिक स्वार्थ समूहहरुबीचको गठजोडले सिंगो देश नै बन्धक बन्यो । त्यसैले सरकारले एक्सन लिइरहेको छ । तर सबैलाई समान नियम लागू होस भन्ने चाहन हो । दुइचार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक राख्ने र युवा पुस्ताको आशालाई बन्धक गराउने कामलाई चिर्न खोजेका हौं ।’
प्रकाशित: ३ वैशाख २०८३ १८:०८ बिहीबार





